काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको छ। आयोजनाका भौतिक संरचना निर्माण र विद्युत् उपकरण जडानको काम पूरा भएपछि परीक्षणका लागि राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोडिएको हो।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाका प्रमुख राजबहादुर विष्टले परीक्षण उत्पादनका लागि आयोजनालाई राष्ट्रिय प्रणालीमा जोडिएको जानकारी दिए। उनका अनुसार २०–२० मेगावाट क्षमताका दुवै युनिट सञ्चालन गरेर परीक्षण भइरहेको छ।
‘बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डलगायत सबै भौतिक संरचना र विद्युत्गृहका उपकरणको परीक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो,’ विष्टले भने, ‘२०–२० मेगावाट क्षमताका दुईवटै युनिट चलाएर परीक्षणका लागि केन्द्रीय प्रणालीमा जोडिएको छ।’
राहुघाट जलविद्युत आयोजना निर्माणको प्रक्रिया सुरु भएको लामो समयपछि परीक्षण उत्पादनको चरणमा पुगेको हो। सुरुमा २०६६ मा भारतीय ठेकेदार आईभीआरसीएलसँग निर्माण सम्झौता भएको थियो। ठेकेदार कम्पनीको कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा उक्त ठेक्का तोडिएपछि नयाँ प्रक्रियाबाट आयोजनाको निर्माण अघि बढाइएको थियो।
त्यसपछि ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मंसिर ६ मा भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)सँग करिब ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा मुख्य सुरुङ निर्माणको काम सुरु गरेको थियो।
आयोजना निर्माणको अवधि विभिन्न कारणले पटकपटक थपिएको थियो। कोरोना महामारी, बाढीपहिरोलगायत प्राकृतिक विपत्ति तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्माण प्रभावित भएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए।
आयोजनाको विद्युत् तथा यान्त्रिक उपकरणतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो।
राहुघाट जलविद्युत आयोजना भारतीय आयात–निर्यात बैंक (एक्जिम बैंक)को ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो। आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा अघि बढाइएको हो।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा आयोजनाको बाँध निर्माण गरिएको छ। बाँधबाट विद्युत्गृहसम्म पानी पुर्याउन ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ। आयोजनामा दुईवटा पानी थिग्राउने पोखरी रहेका छन् भने तिल्केनीचौरमा विद्युत्गृह निर्माण गरिएको छ।
विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माण गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमा ‘लिलो’मार्फत जोड्न चारवटा टावरसहित प्रसारण संरचना निर्माण गरिएको छ।
आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यसका लागि २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको थियो।
अब परीक्षण उत्पादनपछि आयोजनाले क्रमशः आवश्यक प्राविधिक परीक्षण पूरा गर्नेछ। परीक्षण सफल भएपछि व्यावसायिक उत्पादनको चरणमा जानेछ।


