पोखरा विमानस्थलमा आजदेखि फ्लाई दुबईको नियमित उडान, पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित

Headlines आर्थिक पूर्वाधार तथा विकास निर्माण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको करिब साढे तीन वर्षपछि पहिलोपटक निरन्तर अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तथा सेवा व्यवस्थापनको सबै तयारी पूरा भएको छ। फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो उडानमा आउने विमानलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिने तयारी छ।

अध्यागमन, भन्सार, कार्गोलगायत अन्तर्राष्ट्रिय उडानसँग सम्बन्धित सबै सेवा सञ्चालनका लागि विमानस्थल तयार रहेको निरौलाले बताए। विमानस्थल सञ्चालनमा आएपछि केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि नियमितता कायम हुन सकेको थिएन।

‘हामी आजको दिनको पर्खाइमा छौं। विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन्,’ निरौलाले भने, ‘विमानस्थल सञ्चालनपछि केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौं।’

फ्लाई दुबईबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले अन्तर्राष्ट्रिय उडानका लागि भन्सारतर्फको आवश्यक तयारी पूरा भएको बताए। उनका अनुसार राजस्व संकलन, वैध व्यापार सहजीकरण, यात्रुको जाँचपास तथा निकासी–पैठारीका लागि आवश्यक व्यवस्थापन मिलाइएको छ।

फ्लाई दुबईको नियमित उडानले पोखराको पर्यटनमा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा पर्यटन व्यवसायीको छ। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै महत्वपूर्ण हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई उडानबाट अन्य मुलुकसँगको हवाई सम्पर्कसमेत सहज हुने बताए।

‘फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ। यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो,’ श्रेष्ठले भने, ‘यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ।’

उनका अनुसार रोजगारी तथा अध्ययनका लागि नेपाली युवा ठूलो संख्यामा दुबई जाने भएकाले पोखराबाट सिधा उडान सञ्चालन हुँदा त्यसले यात्रुलाई पनि सहज हुनेछ। नियमित अन्तर्राष्ट्रिय उडानले पोखरामा विदेशी पर्यटक आगमन बढाउन र यहाँको पर्यटन व्यवसायलाई थप चलायमान बनाउन सहयोग पुग्ने व्यवसायीको अपेक्षा छ।

यसैबीच, पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए।

फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनको नयाँ चरण सुरु हुने अपेक्षा गरिएको छ। नियमित उडानले निरन्तरता पाएमा पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा जोड्न थप सहज हुने पर्यटन क्षेत्रका व्यवसायीको भनाइ छ।