सुदूरपश्चिममा कृषि कर्जा घट्यो, उद्योगमा ५१ प्रतिशत मात्रै क्षमता उपयोग

Headlines आर्थिक

आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.२८ प्रतिशत अनुमान, प्रदेश सरकारको बजेट खर्च ६१.९४ प्रतिशत

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको छ भने उद्योगहरूको औसत क्षमता उपयोग ५१.२९ प्रतिशतमा सीमित रहेको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

प्रतिवेदनअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन करिब ४ खर्ब ६३ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ । आर्थिक वृद्धिदर आधारभूत मूल्यमा भने २.७१ प्रतिशत रहने आकलन छ । कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.८ प्रतिशत, २ प्रतिशत र २.९ प्रतिशत रहने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमानअनुसार सोही आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको संशोधित अनुमान छ ।

कृषि उत्पादनमा मिश्रित अवस्था

सुदूरपश्चिममा प्रमुख खाद्य तथा अन्य बाली, तरकारी, फलफूल र मसला बालीले ढाकेको क्षेत्रफल २.११ प्रतिशतले घटेको छ । तर ती बालीको कुल उत्पादन भने ०.८२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख खाद्य बालीमध्ये दलहन, तेलहन र भटमासको उत्पादन क्रमशः ११.८६ प्रतिशत, ९.५२ प्रतिशत र ९.५२ प्रतिशतले बढेको छ । तर फापर र जौको उत्पादन क्रमशः ६३.२४ प्रतिशत र ३२.०१ प्रतिशतले घटेको छ ।

पशुजन्य उत्पादनतर्फ दूध उत्पादन ११.०३ प्रतिशत, मासु उत्पादन ६.९१ प्रतिशत, ऊन उत्पादन ५.८ प्रतिशत, अण्डा उत्पादन २.२४ प्रतिशत र माछा उत्पादन ०.७६ प्रतिशतले बढेको छ । छालाको उत्पादन भने ०.८० प्रतिशतले घटेको छ ।

प्रदेशको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको हिस्सा ९.५६ प्रतिशत रहेको छ । २०८३ असार मसान्तसम्म कृषि क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.१३ प्रतिशतले घटेर १५ अर्ब ६२ करोड ४४ लाख रुपैयाँमा झरेको छ ।

उद्योगको क्षमता उपयोग ५१ प्रतिशत

प्रतिवेदनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५१.२९ प्रतिशत रहेको छ । अध्ययनमा समेटिएका अधिकांश उद्योगको उत्पादन बढेको देखिए पनि कंक्रिट, साबुन तथा जीआई तारको उत्पादन घटेको छ ।

प्रदेशमा उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जाको हिस्सा १६.९६ प्रतिशत रहेको छ । २०८२ असार मसान्तको तुलनामा उद्योग क्षेत्रमा प्रवाहित कर्जा ३.७२ प्रतिशतले बढेर २७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

कृषि क्षेत्रमा कर्जा घट्दा उद्योग क्षेत्रमा भने कर्जा प्रवाह बढेको प्रतिवेदनले देखाएको छ ।

निक्षेप र कर्जा दुवै बढे

२०८३ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.५६ प्रतिशतले बढेको छ । सोही अवधिमा कर्जा प्रवाह ३.८२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशका ११ वटा नमुना होटलको औसत अकुपेन्सी ३४.६९ प्रतिशत रहेको छ । घरजग्गा रजिस्ट्रेसन संख्या ११.४१ प्रतिशतले बढ्दा रजिस्ट्रेसन राजस्व १७.२९ प्रतिशतले बढेको छ । यातायातका साधन दर्ता संख्या पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.३३ प्रतिशतले बढेको छ ।

विद्युत् उत्पादन १६९ मेगावाट

प्रतिवेदनअनुसार २०८२ फागुनसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जलविद्युत् आयोजनाबाट कुल १६९ मेगावाट विद्युत् उत्पादन भएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रदेशबाट ६२ हजार ७३६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

प्रदेश सरकारको बजेट खर्च ६२ प्रतिशतभन्दा कम

आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेश सरकारले कुल ३३ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये २० अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजित बजेटको ६१.९४ प्रतिशत हो ।

चालु खर्चतर्फ विनियोजित बजेटको ६७.०८ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ ५८.४० प्रतिशत बजेट खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।