नेपालकै ‘कान्छो’ राष्ट्रिय निकुञ्जमा कर्मचारी खटाइयो, नियमित कामकाजमा सहज

समाचार

मुगु । मुगुको पूर्वी क्षेत्रस्थित मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नेपालकै कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्जमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कर्मचारी खटाएको छ ।

निकुञ्ज स्थापना भएको करिब एक वर्षपछि विभागले दरबन्दी मिलान गरी कर्मचारी पठाएसँगै अब कार्यालय स्थापना र नियमित कामकाज सञ्चालनको बाटो खुलेको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.बुद्धिसागर पौडेलका अनुसार छायाँनाथ राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी कामकाज सुरु गर्न कर्मचारीहरू खटाइएको हो।

निकुञ्जमा कुल २७ जनाको कर्मचारी दरबन्दी रहेपनि तत्कालका लागि एक दर्जन (१२ जना) कर्मचारी पठाइएको उनले जानकारी दिए । निकुञ्जको सुरक्षार्थ खटिने नेपाली सेनाको सङ्ख्याबारे भने हालसम्म निर्णय भई नसकेको महानिर्देशक पौडेलले बताए ।

विभागले कर्मचारी खटाएपछि अब तत्कालै मुगुम कार्मारोङ गाउँपालिकामा कार्यालय स्थापना गरी कामकाज सुरु गरिने छायाँनाथ राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु रोकायाले जानकारी दिए । उनका अनुसार कर्मचारी खटिएसँगै निकुञ्जको प्रशासनिक तथा व्यवस्थापकीय कामहरू तीव्र गतिमा अघि बढ्नेछन् ।

मुगुमा वि.सं. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ५० वर्षपछि पूर्ववनमन्त्री शाही ठकुरीको विशेष पहलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको थियो। यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १२ बाट बढेर १३ पुगेको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाका डोल्फू, किम्री, वाङरी, चितै लगायतका बस्तीका स्थानीयले वर्षौंदेखि भोग्दै आएको प्रशासनिक तथा सेवा सुविधासम्बन्धी कठिनाइलाई मध्यनजर गर्दै पूर्वमन्त्री शाहीले छुट्टै निकुञ्ज स्थापनाका लागि पहल गर्नुभएको थियो ।

यसअघि यी क्षेत्रका बासिन्दाले वन्यजन्तु संरक्षण तथा निकुञ्जसम्बन्धी प्रशासनिक काम र सेवा सुविधा लिन डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज पुग्नुपर्ने बाध्य थियो । त्यसका लागि कतिपय अवस्थामा एक सातासम्म पैदल हिँड्नुपर्ने वा मुगुबाट जहाज चढेर नेपालगञ्ज हुँदै डोल्पाको जुफाल पुगेर पुनः निकुञ्ज कार्यालयसम्म जानुपर्ने कष्टकर अवस्था थियो ।

स्थानीयको यही समस्यालाई समाधान गर्न शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको भूभाग अलग गरी छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो। सरकारले निकुञ्ज घोषणा गर्दा यसको क्षेत्रफल ८४३ वर्ग किलोमिटर र मध्यवर्ती क्षेत्र १७७ वर्ग किलोमिटर तोकेको छ ।

नयाँ निकुञ्ज स्थापना र कार्यालय सञ्चालनको तयारीसँगै स्थानीयवासीमा ठूलो खुसी छाएको छ। किम्री गाउँका स्थानीय फोन्जुक तामाङले अब निकुञ्जसम्बन्धी सेवा लिन टाढाको डोल्पा पुग्नुपर्ने बाध्यता अन्त्य भएकोमा खुसी व्यक्त गरे ।

उनले भने, ‘सेवा लिन शे–फोक्सुण्डो पुग्न हामीलाई निकै सास्ती थियो। मन्त्री शाहीले हाम्रो दुःख बुझेर छुट्टै निकुञ्ज स्थापना गरिदिनुभयो, अब आफ्नै गाउँमा सेवा पा उने भयौँ ।’

यसअघि छुट्टै निकुञ्ज स्थापनाका लागि मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा स्थानीयवासीले समेत सरकारसँग जोडदार माग गर्दै आएका थिए ।

छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनासँगै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल तथा मध्यवर्ती क्षेत्रको सिमानासमेत हेरफेर गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को प्रावधानअनुसार नयाँ निकुञ्ज स्थापना र पुरानो निकुञ्जको सिमाना पुनर्निर्धारण गरिएको हो ।

लामो समयदेखि भौगोलिक विकटता र कठिनाइ भोग्दै आएका मुगुम कार्मारोङवासीका लागि कर्मचारी परिचालन र कार्यालय सञ्चालनको यो तयारीलाई एक महत्वपूर्ण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

दान बहादुर बुढा, नेपाल न्यूज बैंक