साझा राष्ट्रिय एजेन्डाबिनै भारत भ्रमणमा गए बालेन : पूर्वप्रधानमन्त्री खनाल

राजनीति

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाह साझा राष्ट्रिय एजेन्डा तयार नगरी भारत भ्रमणमा गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । भारतसँगको द्विपक्षीय सम्बन्ध महत्त्वपूर्ण रहे पनि प्रधानमन्त्री शाहले भ्रमणअघि राजनीतिक दलहरूसँग छलफल गरेर राष्ट्रिय सहमतिको एजेन्डा बनाउन नसकेको खनालको भनाइ छ ।

साझा एजेन्डा तयार भएको भए भारतसँगको छलफल र सम्झौता थप स्पष्ट हुने उनले बताएका छन् । भारतीय समाचार संस्था एएनआईसँग आइतबार कुरा गर्दै खनालले प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुन विषयमा छलफल गर्ने र कस्ता सम्झौता गर्ने भन्नेबारे अन्योल रहेको टिप्पणी गरे ।

‘नेपालका प्रधानमन्त्रीले देशका लागि साझा एजेन्डा तयार गर्नुपथ्र्यो । त्यसो भएको भए राम्रो हुन्थ्यो । तर, उहाँले त्यसो गर्नुभएन । त्यसैले भारतीय प्रधानमन्त्रीसँग के विषयमा छलफल गर्नुहुन्छ वा कस्तो सम्झौता गर्नुहुन्छ भन्ने कसैलाई थाहा छैन,’ उनले भने ।

खनालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन साझा चासो र अपेक्षालाई सम्बोधन गर्नुपर्ने पनि बताए । दुई देशबीच धेरै अपेक्षा रहे पनि सम्बन्धमा केही असहजताका विषय रहेको उल्लेख गर्दै उनले तिनलाई समाधान गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार नेपाल र भारतबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व र असल छिमेकीपनका पाँच सिद्धान्तका आधारमा अघि बढाउनुपर्छ । दुवै देशले सौहार्दपूर्ण सम्बन्ध कायम राख्दै व्यापक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाल र भारत अत्यन्त निकट र घनिष्ठ छिमेकी हुन् । हामीबीच सौहार्दपूर्ण सम्बन्ध हुनुपर्छ र व्यापक किसिमको सहकार्य पनि विस्तार गर्नुपर्छ,’ खनालले भने । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्मको दुईदिने भारत भ्रमणमा छन् । गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण तथा पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्ने र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ । एएनआई