जुट, चिया र स्टिल निर्यातमा भारतीय अवरोध हटाउन माग, व्यापार घाटा साढे ९ खर्ब नाघेपछि बजार पहुँच र पारवहन सुधारलाई प्राथमिकता
नयाँदिल्ली । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। तर दुई देशबीचको व्यापार विस्तार भइरहँदा नेपालले भारतसँगको व्यापारमा ठूलो घाटा बेहोर्दै आएको छ। नेपाली उत्पादनले भारतीय बजारमा विभिन्न शुल्क, गुणस्तर प्रमाणीकरण र परीक्षण प्रक्रियाका कारण अवरोध झेलिरहेका बेला नेपाली निजी क्षेत्रले व्यापार सम्बन्धलाई थप सन्तुलित बनाउन भारतीय पक्षसँग ठोस पहल गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजित नेपाल–भारत आर्थिक तथा व्यावसायिक अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच बढाउन र लामो समयदेखि कायम व्यापारिक अवरोध हटाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन्।
गत आर्थिक वर्षमा भारततर्फ नेपालको निर्यात १५.१२ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यो नेपालको कुल निर्यातको ८२.०४ प्रतिशत हो। तर भारतबाट भएको आयात १३.०१ प्रतिशतले बढेर १२ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। यसले भारतसँगको व्यापार घाटा ९ खर्ब ५१ अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ।
नेपालको निर्यातको ठूलो हिस्सा एउटै बजारमा निर्भर हुनु र त्यही बजारमा नेपाली उत्पादनले विभिन्न अवरोध सामना गर्नुपर्ने अवस्थाले व्यापार विस्तारलाई चुनौती दिएको छ। त्यसैले निजी क्षेत्रले अब भारतसँगको व्यापारलाई आयातमा मात्र सीमित नराखी नेपाली उत्पादनको निर्यात बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ।
श्रेष्ठले भारतीय बजारमा नेपाली उद्योगले भोगिरहेका समस्या समाधानका लागि जुट, स्टिल र गुणस्तर प्रमाणीकरणका विषय उठाएका छन्। भारतले नेपाली जुटजन्य उत्पादनमा लगाउँदै आएको एन्टी डम्पिङ शुल्क, स्टिल निर्यातमा लगाएको सेफगार्ड शुल्क तथा भारतीय गुणस्तर मापदण्डको प्रमाणपत्र प्राप्त गर्न र नवीकरण गर्न हुने ढिलाइले नेपाली उद्योग प्रभावित भएको उनको भनाइ छ।
भारतले स्टिलमा सेफगार्ड शुल्क लगाएपछि गत आर्थिक वर्षमा नेपालको भारततर्फको स्टिल निर्यात ६० प्रतिशतभन्दा बढी घटेको कार्यक्रममा उल्लेख गरिएको थियो। जुट उद्योगमा शुल्कको समस्या पनि लामो समयदेखि कायम छ। यसले विशेषगरी पूर्वी नेपालका जुट उद्योग र त्यसमा निर्भर किसान तथा श्रमिक प्रभावित हुने अवस्था छ।
नेपाली उद्योगका उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न सहज बनाउन नेपाल र भारतका गुणस्तर प्रमाणीकरण निकायबीच पारस्परिक मान्यता कायम गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ। यसो भएमा एउटै उत्पादनको परीक्षण दुवै देशमा दोहोर्याउनुपर्ने अवस्था कम हुने र निर्यात लागत तथा समय घट्ने अपेक्षा निजी क्षेत्रको छ।
यी समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच व्यापारिक अवरोध तथा गुणस्तर मापदण्डसम्बन्धी संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव गरिएको छ। कार्यदलले दुवै देशका उद्योगी व्यवसायीका समस्या पहिचान गरी सरकारलाई साझा सुझाव दिने प्रस्ताव छ।
श्रेष्ठले व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधिमा सहकार्य बढाउन सातबुँदे प्राथमिकता पनि प्रस्तुत गरेका छन्। भैरहवा, नेपालगन्ज र दोधारा–चाँदनीका व्यापारिक पूर्वाधारलाई लजिस्टिक्स हबका रूपमा विकास गर्ने, भारतीय बन्दरगाहसम्मको पहुँच सहज बनाउने र रेल तथा हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको प्रस्ताव छ।
ऊर्जा क्षेत्रमा नेपालसँग रहेको जलविद्युत् सम्भावनालाई उपयोग गर्दै आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। पर्यटन, कृषि प्रशोधन, औषधि, सिमेन्ट र सूचना प्रविधिजस्ता क्षेत्रमा भारतीय लगानी तथा संयुक्त लगानी विस्तार गर्नुपर्ने उनको प्रस्ताव छ।
कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका थिए। सरकारले विदेशी लगानीका लागि कानुनी तथा प्रशासनिक प्रक्रिया सहज बनाउने, लगानीको सुरक्षा गर्ने र नाफा फिर्ता लैजान आवश्यक कानुनी सहजीकरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।
सरकारले १०२ उद्योगमा स्वचालित प्रक्रियाबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था र एकद्वार सेवा केन्द्र सञ्चालनमा ल्याएको विषय पनि कार्यक्रममा उठाइएको थियो। करिब ५ सय दफासहित ५९ वटा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै सरकारले लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएको जनाएको छ।
भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले नेपालको आर्थिक विकास र भारतीय लगानीको सम्भावनाबारे सकारात्मक धारणा राखेका थिए।
नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन लगानी भित्र्याउने विषयसँगै नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण देखिएको छ। निजी क्षेत्रले उठाएका शुल्क, प्रमाणीकरण र पारवहनका समस्या समाधानमा ठोस प्रगति भए मात्रै व्यापार विस्तारको लक्ष्यले अपेक्षित परिणाम दिन सक्नेछ।



