नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगको सम्बन्धलाई आर्थिक सहयोग र पूर्वाधार विकासका ठोस उपलब्धिसँग जोड्ने प्रयास गरेका छन्। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्ने भेटवार्तामा बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि आर्थिक सहायता, अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग र ऊर्जा तथा कनेक्टिभिटीका आयोजना प्रमुखताका साथ उठाउने भएका छन्।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा सोमबार बिहान ११ बजे हुने दुई प्रधानमन्त्रीबीचको भेटवार्तालाई नेपालले आर्थिक तथा विकास साझेदारी विस्तार गर्ने अवसरका रूपमा लिएको छ। प्रधानमन्त्री शाह र मोदीबीच पहिलोपटक प्रत्यक्ष औपचारिक भेट हुन लागेको हो। भेटपछि दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता, विभिन्न समझदारी तथा सम्झौतामा हस्ताक्षर र केही आयोजना संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।
नेपालले भारतसँग बाढीपहिरोबाट क्षति पुगेका सडक, पुल, जलविद्युत् तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान र सहुलियतपूर्ण ऋण सहयोग मागेको छ। भारतले करिब डेढ अर्ब डलर बराबरको आर्थिक सहायता प्याकेज घोषणा गर्न सक्ने संकेत दिएको छ। उक्त प्याकेजमा अनुदान र ऋणको हिस्सा कति हुने भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।
गत वर्षको बाढीपहिरोले नेपालका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि पुनर्निर्माणका लागि स्रोत जुटाउनु सरकारको प्राथमिकतामा छ। त्यसैले भारतीय सहयोगको आकार, स्वरूप र उपयोगका क्षेत्रबारे हुने सहमति भ्रमणको महत्वपूर्ण उपलब्धि बन्न सक्नेछ। भारतबाट आउने सहयोगले पुनर्निर्माणका साथै पूर्वाधार विकासका नयाँ आयोजना अघि बढाउन पनि सहयोग पुग्ने नेपालको अपेक्षा छ।
हवाई प्रवेशमार्गमा नेपालको चासो
भेटवार्तामा नेपालले लामो समयदेखि उठाउँदै आएको थप हवाई प्रवेशमार्गको विषय पनि महत्वपूर्ण हुनेछ। विशेषगरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालन र पश्चिम नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान सहज बनाउन भारततर्फबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन नेपालले आग्रह गर्दै आएको छ।
नेपालले महेन्द्रनगर हुँदै आउने एल६२६ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्नुपर्ने माग पनि उठाएको छ। अहिले उक्त मार्गबाट अन्तर्राष्ट्रिय विमान नेपालबाट बाहिर जान सक्ने भए पनि सोही मार्ग हुँदै नेपाल प्रवेश गर्न पाउने व्यवस्था छैन। यसलाई दुईतर्फी बनाउन सके पश्चिम नेपालका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहज हुने नेपालको अपेक्षा छ।
भैरहवाका लागि बागडोगरा क्षेत्रबाट हवाई प्रवेशमार्ग प्रयोग गर्ने विषयमा पनि दुई देशबीच छलफल भइरहेको छ। तर, उक्त मार्गबाट भारतीय सैन्य विमानसमेत सञ्चालन गर्न सकिने प्रस्ताव र नेपालले नागरिक उडानलाई मात्र अनुमति दिनुपर्ने अडानका कारण विषय जटिल बनेको छ। हवाई प्रवेशमार्गको उडान उचाइबारे पनि दुई पक्षबीच मतभेद रहेको छ। त्यसैले यस विषयमा आजको उच्चस्तरीय वार्ताबाट भारतको स्पष्ट धारणा आउने अपेक्षा गरिएको छ।
ऊर्जा र पूर्वाधारमा नयाँ सहकार्य
ऊर्जा तथा जलविद्युत् क्षेत्रमा सहकार्य विस्तार पनि भ्रमणको अर्को महत्वपूर्ण पक्ष हो। भारतको सहयोगमा अघि बढेका आयोजना, अन्तरदेशीय प्रसारण लाइन, विद्युत् व्यापार र नयाँ जलविद्युत् आयोजनामा लगानी विस्तारबारे छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। भारतीय कम्पनी एसजेभीएनको लगानीमा अघि बढ्ने यो आयोजना नेपालको ऊर्जा उत्पादन र भारतसँगको विद्युत् व्यापारका दृष्टिले महत्वपूर्ण मानिएको छ। आयोजना निर्माण अघि बढेमा नेपालको विद्युत् उत्पादन क्षमता र भारततर्फ विद्युत् निर्यातको सम्भावना विस्तार हुनेछ।
त्यसैगरी जनकपुर र अयोध्याबीच रेल सेवा, पनौतीमा निर्माण भएको नेपाल प्रहरी प्रतिष्ठान, एकीकृत जाँच चौकी र पुललगायतका आयोजना उद्घाटन गर्ने तयारी छ। यी आयोजनाले दुई देशबीचको यातायात, व्यापार, धार्मिक पर्यटन र जनस्तरको सम्पर्क विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
व्यापार र लगानी विस्तारको प्रयास
प्रधानमन्त्रीको भ्रमणमा आर्थिक साझेदारी, व्यापार, पारवहन, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा डिजिटल सम्पर्कका विषय पनि समेटिएका छन्। दुई देशबीच दीर्घकालीन सहकार्यका प्राथमिकता र लक्ष्य निर्धारण गर्ने संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ। यसमा आर्थिक साझेदारी, ऊर्जा, जलस्रोत, भौतिक तथा डिजिटल कनेक्टिभिटी र सामाजिक क्षेत्रका विषय समेटिने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका थिए। भारतीय उद्योग परिसंघले आयोजना गरेको नेपाल–भारत बिजनेस राउन्डटेबलमा उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा लगानी गर्न आह्वान गर्दै लगानीको सुरक्षा, प्रतिफल र नाफा फिर्ता लैजान कानुनी सहजीकरण गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहको भ्रमणमा सरकारी तहको छलफलसँगै निजी क्षेत्रको सहभागितालाई पनि महत्व दिइएको छ। नेपालबाट सरकारी प्रतिनिधिमण्डलका अतिरिक्त ठूलो संख्यामा उद्योगी व्यवसायी भारत पुगेका छन्। यसले दुई देशबीच व्यापार तथा लगानीका नयाँ अवसर पहिचान गर्ने अपेक्षा गरिएको छ।
भेटवार्तापछि प्रधानमन्त्री मोदीले शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्नेछन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार तथा उच्च सरकारी अधिकारी सहभागी छन्। दुईदिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ।
नेपालका लागि यस भ्रमणको महत्व केवल उच्चस्तरीय राजनीतिक भेटमा सीमित छैन। आर्थिक पुनर्निर्माणका लागि सहयोग जुटाउने, अन्तर्राष्ट्रिय उडानका अवरोध हटाउने र ऊर्जा तथा पूर्वाधारका आयोजनालाई गति दिने विषयमा कस्तो सहमति हुन्छ भन्नेले भ्रमणको उपलब्धि निर्धारण गर्नेछ।



