प्रधानमन्त्री बालेनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

Headlines राजनीति

मंसिर ६ र ७ गते राजकीय भ्रमण, मोदीसँग व्यापार, ऊर्जा र पूर्वाधारबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ गते नयाँदिल्ली जानेछन्। उनी मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम छ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाह दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल रहनेछ। निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन्।

भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ। विभिन्न क्षेत्रमा समझदारीपत्र आदानप्रदान तथा ऊर्जा र सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम पनि छ।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। भारतीय विदेशमन्त्री एस जयशंकरले पनि उनीसँग भेट गर्ने कार्यक्रम छ। मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायीलाई सम्बोधन गर्नेछन्। नेपालमा भारतीय लगानी आकर्षित गर्ने र निजी क्षेत्रबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल हुनेछ। प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल फर्कने कार्यक्रम छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–

–२०८३ मंसिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

–चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने ।

–अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने ।

–राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गर्ने ।

–ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।

–राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गर्ने ।