प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाह ३४ सदस्यीय आधिकारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंसिर ६ गते आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन्।
भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुनेछन्। त्यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाह पनि टोलीमा रहनेछन्। यसबाहेक निजी खर्चमा ५२ जना निजी क्षेत्रका व्यवसायीसमेत भ्रमणमा सहभागी हुनेछन्।
भ्रमणको मुख्य कार्यक्रमअन्तर्गत मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। त्यसैगरी, उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह मंसिर ७ गते सोमबार साँझ ६:३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।



