गभर्नरभन्दा डेपुटी गभर्नरको सुविधा बढी! राष्ट्र बैंकमा भत्ता र सुविधामै लाखौँ खर्च

Headlines बैंक/वित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरभन्दा डेपुटी गभर्नरहरूले तलबबाहेकका भत्ता तथा सुविधामा बढी रकम बुझेका छन्। आर्थिक वर्ष २०८२/८३ मा गभर्नर विश्वनाथ पौडेलले तलब, बैठक भत्ता र अन्य सुविधासहित ४६ लाख ४९ हजार रुपैयाँ पाउँदा तीन डेपुटी गभर्नरले अन्य सुविधा तथा भत्ताबापत मात्रै ३८ लाख ९७ हजारदेखि ४६ लाख ८ हजार रुपैयाँसम्म बुझेका छन्।

राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार गभर्नर, डेपुटी गभर्नर र सञ्चालकका लागि एक वर्षमा २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च भएको छ। गभर्नर पौडेलले तलबबापत १६ लाख ३२ हजार, बैठक भत्ताबापत ५ लाख ६७ हजार र अन्य सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ बुझेका छन्।

डेपुटी गभर्नर किरण पण्डितले अन्य सुविधा तथा भत्ताबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ, निलम ढुंगाना तिम्सिनाले ४२ लाख ३५ हजार ७११ रुपैयाँ र बमबहादुर मिश्रले ३८ लाख ९७ हजार ५११ रुपैयाँ पाएका छन्। पण्डितको विवरणमा कार्यकारी निर्देशक रहँदाको अवधिको तलब तथा भत्तासमेत जोडिएको छ।

राष्ट्र बैंकका सञ्चालकहरूले पनि बैठक भत्ता र विभिन्न सुविधा पाएका छन्। सञ्चालक समितिका सदस्यलाई प्रतिबैठक ९ हजार रुपैयाँ भत्ता दिने व्यवस्था छ। इन्धन, सवारीसाधन मर्मत, टेलिफोन, इन्टरनेट, चालक र औषधोपचारलगायत सुविधा पनि उपलब्ध गराइन्छ।

प्रतिवेदनअनुसार गभर्नर, डेपुटी गभर्नर, सञ्चालक र कार्यकारी निर्देशकसहित उच्च व्यवस्थापनको वार्षिक पारिश्रमिक तथा सुविधा २० करोड ५५ लाख ११ हजार रुपैयाँ पुगेको छ। यसबाहेक उच्च व्यवस्थापनका पदाधिकारीले उपभोग गरेको कर्जा सुविधा २५ करोड ९३ लाख १६ हजार रुपैयाँ रहेको छ।