काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीले पुँजीबजार सुधार तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलसँग नेप्से कार्यालयमा भएको भेटका क्रममा सीईओ सुबेदीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। एसोसिएसनले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन प्रतिनिधिमण्डलसहित भेट गरेको थियो।
भेटमा एसोसिएसनका अध्यक्ष ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी र समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
उनले कार्ययोजना कार्यान्वयनबाट पुँजीबजारका विद्यमान समस्या समाधान गर्न, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न तथा बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने बताए।
ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे।
जवाफमा सीईओ सुबेदीले पुँजीबजारको विकास र सुधारका लागि सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए। उनले २१ बुँदे कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल गर्दै सुधारका काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
भेटमा दुवै पक्षले पुँजीबजारको विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ।



