सेयर बजारमा गिरावट कायमै, कारोबार रकम भने साढे ४ अर्बमाथि

Headlines बैंक/वित्त

साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन शुक्रबार पनि घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार थप १२.७९ अंक घटेर २६३६.१० विन्दुमा झरेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स २.३२ अंक, फ्लोट इन्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७३ अंक घटेको छ। बजार परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३५३ कम्पनीका १ करोड १२ लाख ९३ हजार कित्ता सेयर ४८ हजार ७८८ पटकको कारोबारमा किनबेच भएका छन्।

बजार घटेका दिन पनि केही कम्पनीको सेयरमूल्यमा भने उल्लेख्य वृद्धि देखिएको छ। अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशत बढेको छ। सेन्ट्रल फाइनान्सको ६ प्रतिशत र एपोलो हाइड्रोपावरको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यता एभरेष्ट कलरको सेयरमूल्य सबैभन्दा धेरै ५.३६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ पहिलो स्थानमा रहेको छ। उक्त ऋणपत्रको २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोको २० करोड रुपैयाँभन्दा बढी र सेन्ट्रल फाइनान्सको साढे १९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।