विद्युत् निर्यातदेखि सौर्य ऊर्जासम्म: नेपाल–भारतबीच सहकार्य विस्तारबारे छलफल

Headlines आर्थिक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।

भेटमा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो । त्यसैगरी, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तारको सम्भावना, निर्माणाधीन परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने तथा विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि विचारविमर्श भएको थियो ।

यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास तथा विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे समेत छलफल भएको छ ।

भेटमा दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजनालाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।