NEPSE मा सानो करेक्सन, २६२९ विन्दुमा बजार बन्द

Headlines बैंक/वित्त

सात दिनको वृद्धिपछि दशैँ बिदालगत्तै घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

काठमाडौं । दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको नेप्से बिदापछि भने ओरालो लागेको हो। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स २.१७ अंक, फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटेका छन्।

बजारमा यस दिन ३४१ कम्पनीका १ करोड ३ लाख ४३ हजार कित्ता सेयर किनबेच भएका छन्। ३८ हजार ७८८ पटकको कारोबारमा ४ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। गत असोज ३० गते भने ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सोमबार बेनी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किटमा पुगेको छ। कम्पनीको सेयरमूल्य ५२ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता ४०५ रुपैयाँ ९० पैसा पुगेको छ।

त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य करिब ६ प्रतिशत र सोनापुर मिनरल्स एन्ड आयलको करिब ५ प्रतिशत बढेको छ। यता चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ भने माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये चारको परिसूचक बढेको छ भने नौ वटाको घटेको छ। व्यापार उपसमूह सर्वाधिक १.११ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ।

विकास बैंक उपसमूह भने सबैभन्दा धेरै १.२१ प्रतिशत घटेको छ।