नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना, नौ दिनमा नौ दुर्गाको पूजा

Headlines संकृति - सम्पदा समाचार समाज

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको नवरात्रमा नौ दुर्गाका फरकफरक स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज दसैँघर, पूजा कोठा तथा देशभरका शक्तिपीठमा चन्द्रघण्टा देवीको आराधना गरिँदै छ।

नवदुर्गामध्ये चन्द्रघण्टा तेस्रो देवी हुन्। धार्मिक मान्यताअनुसार उनको शिरमा अर्धचन्द्र र हातमा घण्टा रहने भएकाले उनलाई चन्द्रघण्टा भनिएको हो। विभिन्न पौराणिक ग्रन्थमा चन्द्रघण्टा देवीलाई शक्ति, साहस र दुष्ट शक्तिको विनाशसँग सम्बन्धित देवीका रूपमा वर्णन गरिएको छ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका सेवानिवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा चन्द्रघण्टा देवीको पूजा आराधना गर्दा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ भन्ने उल्लेख गर्दै चन्द्रमा घण्टामा रहेकी देवीलाई चन्द्रघण्टा भनिएको धार्मिक व्याख्या पाइन्छ।

चन्द्रघण्टा देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। उनलाई अत्याचारी तथा दानवी शक्तिको नाश गर्ने देवीका रूपमा पनि चित्रण गरिएको छ। नवरात्रको तेस्रो दिन उनको पूजा गर्दा मणिपुर चक्रमा ध्यान गर्ने परम्परा रहेको छ। देवीको स्वरूपमा ध्यान गर्नाले विभिन्न शक्ति प्राप्त हुने विश्वास गरिन्छ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाले पाप नाश हुने विश्वास व्यक्त गरिएको छ। उनको स्वरूप शान्त, सामान्य र करुणामयी मानिन्छ। विशेषगरी गीतसङ्गीत क्षेत्रमा लागेका व्यक्तिले चन्द्रघण्टा देवीको आराधना गर्ने धार्मिक परम्परा रहेको उनले बताए। आजको दिन विशेष पूजा र ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ।

नवरात्रको पहिलो दिन आइतबार घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जमरा राखिएको थियो। वैदिक विधिअनुसार घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो। दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो भने आज तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिँदै छ।

श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थमा घटस्थापनालाई देवीको ध्यान र साधनामा आफूलाई समर्पित गर्ने प्रक्रियाका रूपमा व्याख्या गरिएको छ। यही धार्मिक मान्यताका आधारमा भक्तजनले नवरात्रका नौ दिन घर तथा शक्तिपीठमा देवीको पूजा, ध्यान र साधना गर्छन्।

नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गासप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत तथा देवीका विभिन्न स्तोत्र पाठ गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार नौ दिनसम्म देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। त्यसैले नवरात्रलाई देवीको उपासना, साधना र धार्मिक अनुष्ठानको विशेष समयका रूपमा लिइन्छ।

दुर्गा पक्षका रूपमा समेत चिनिने नवरात्रमा नौ दिनसम्म नौ दुर्गाका नौ स्वरूपको पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा गर्ने परम्परा छ। त्यसपछि चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रका नौ दिन पूजा गरिएका देवीको प्रसादस्वरूप विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। यसरी नेपालीले बडादसैँलाई १५ दिनसम्म मनाउने परम्परा रहिआएको छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शन गर्न जाने भक्तजनको घुइँचो लाग्ने गर्छ। राजधानी काठमाडौंसहित देशका प्रमुख शक्तिपीठमा बिहानैदेखि भक्तजन पुगेर देवीको दर्शन गर्ने, पूजा सामग्री चढाउने र मनोकामना पूरा हुने विश्वासका साथ आराधना गर्ने परम्परा छ।

नवरात्रका नौ दिनमा कम्तीमा नौवटा शक्तिपीठमा पुगेर पूजा तथा दर्शन गर्नुपर्ने धार्मिक मान्यताका आधारमा कतिपय भक्तजन विभिन्न देवी मन्दिरको भ्रमणसमेत गर्छन्। दसैँको समयमा मात्रै नभई वर्षभरि बुधबार, बिहीबार, शुक्रबार र शनिबारलगायत दिनमा पनि विभिन्न मठमन्दिरमा देवीको विशेष पूजा तथा दर्शनका लागि भक्तजन पुग्ने गर्छन्।

नवरात्रलाई धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक परम्परासँग जोडिएको पर्वका रूपमा मनाइन्छ। नौ दिनसम्म देवीको पूजा आराधना गरेपछि विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा ग्रहण गरी दसैँको मुख्य उत्सव मनाउने गरिन्छ।