साताको पहिलो कारोबारमा नेप्से ७ अंकले बढ्यो, कारोबार ७ अर्ब नाघ्यो

Headlines आर्थिक

काठमाडौँ,  — साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा पुगेको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको बजारले मंगलबार पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स २.७१ अंकले बढेको छ। फ्लोट इन्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले बढेका छन्।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। मंगलबार ३५६ कम्पनीका २ करोड १५ लाख ८९ हजार कित्ता सेयर ७० हजार ६९१ पटकको कारोबारमा किनबेच भएका छन्। दिनभरमा कुल ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

यस दिन सबैभन्दा धेरै कारोबार हाथवे इन्भेष्टमेन्ट नेपालको भएको छ। कम्पनीको ४४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४० करोड ३६ लाख रुपैयाँ र घलेम्दी हाइड्रोको २२ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

मिड सोलु हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको सेयरमूल्य ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको देखिएको छ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.७५ प्रतिशत र मैलुङखोला जलविद्युतको ५.६३ प्रतिशत बढेको छ। कारोबारमा आएको स्नो रिभर्सको सेयरमूल्य भने ८.२३ प्रतिशतले घटेको छ।

मंगलबार १३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूह घटेका छन्। अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक पनि सामान्य बढेको छ।

यस दिन १३७ कम्पनीको सेयरमूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ। बाँकी कम्पनीको सेयरमूल्यमा भने उल्लेख्य परिवर्तन देखिएको छैन।