CONNECTING THE UNCONNECTED! — ११ जिल्लाका १३ स्थानमा टेलिकमको 2G/4G विस्तार

Headlines विज्ञान तथा सूचना प्रविधि

टेलिकमद्वारा भदौमा ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालन

काठमाडौँ, ६ असोज — नेपाल टेलिकमले भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ। सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।

टेलिकमका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका–३ कार्यालय र च्याउन्डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ। चितवनको मोहनपुरमा पनि नयाँ साइट सञ्चालनमा आएको छ।

गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा नयाँ मोबाइल साइट सञ्चालन गरिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालनमा आएका छन्।

कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।

नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवाको गुणस्तरमा समेत सुधार आउने टेलिकमले जनाएको छ।

दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानमा क्रमशः नयाँ मोबाइल साइट थप गर्दै जाने योजना टेलिकमले अघि सारेको छ।