काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो।
अर्थमन्त्री वाग्ले बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्।
अर्थ मन्त्रालयका अनुसार भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसहित नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ।
भ्रमणको पहिलो दिन बिहीबार साँझ अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध तथा सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
शुक्रबार उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
शुक्रबार नै अर्थमन्त्री वाग्ले भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने व्यावसायिक भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
भ्रमणको अन्तिम दिन शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने औद्योगिक घरानाका प्रतिनिधिसहितको सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। शनिबार दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा पनि उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
तीनदिने भ्रमण पूरा गरी अर्थमन्त्री वाग्ले शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।


