काठमाडौं । एक अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले धनुषाको शहीदनगर नगरपालिका–४ का अजय कुमार मुखियालाई पक्राउ गरेको हो। उनलाई भदौ ३० गते साँझ करिब ५ः२० बजे घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सीआईबीका अनुसार विभिन्न मुलुक, विशेषगरी मलेसियाबाट अवैध रूपमा हुन्डी कारोबार भइरहेको सूचनाका आधारमा गरिएको अनुसन्धान तथा बैंकिङ कारोबारको विश्लेषणबाट मुखियाको संलग्नतामा ठूलो रकमको हुन्डी कारोबार भएको खुलेको हो।
अनुसन्धानका क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी कुल एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुन्डी कारोबार भएको पुष्टि भएको सीआईबीले जनाएको छ।
सीआईबीका एसएसपी अनुपमशमशेर जबराका अनुसार मुखियाले मलेसियाबाट ठूलो मात्रामा हुन्डी कारोबार गर्दै आएका थिए। विभिन्न व्यक्ति तथा संस्थाका बैंक खाता प्रयोग गरी बैंकिङ प्रणालीमार्फत नै हुन्डीको रकम कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए।
मुखियालाई धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीमाथि ‘हुन्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको छ। अनुसन्धानका क्रममा थप व्यक्ति तथा कारोबारबारे विवरण खुल्न सक्ने प्रहरीले जनाएको छ।


