सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण प्राथमिकतामा: गृहमन्त्री गुरुङ

Headlines अपराध तथा सुरक्षा

काठमाडौं: भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्त व्यवहारमा ल्याउन माननीय गृहमन्त्री सुधन गुरुङले जोड दिनुभएको छ। संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालय (UNRCO) को आयोजनामा कार्तिक १७ देखि १९ गतेसम्म सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित Model Protocol for Law Enforcement Officials to Promote and Protect Human Rights in the Context of Peaceful Protests कार्यान्वयनसम्बन्धी ३ दिने परामर्श कार्यशालाको समापन सत्रलाई सम्बोधन गर्दै शान्ति सुव्यवस्था कायम गर्न भीडमा बल प्रयोगभन्दा उचित सञ्चार, समन्वय र संस्थागत सुधारमा जोड दिन दुवै प्रहरी संगठनलाई निर्देशन गर्नुभएको छ।

शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनका क्रममा मानव अधिकारको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्दै प्रहरीको व्यावसायिक भूमिका प्रभावकारी बनाउने उद्देश्यले आयोजना भएको कार्यशालामा गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरू तथा OHCHR जेनेभा र UNODC का सहजकर्ताहरूको सहभागिता रहेको थियो।

कार्यशालाले सहभागीहरूलाई आफ्नो अधिकार, जिम्मेवारी र कार्यविधिको पुनरावलोकन तथा अद्यावधिक गर्ने अवसर दिएको छ। बल प्रयोगका अन्तर्राष्ट्रिय मापदण्ड, संवाद, समन्वय, परिचालन योजना र नेतृत्वको जवाफदेहिताजस्ता विषयमा प्राप्त ज्ञान र सीपले नेपालमा व्यावसायिक, संयमित र जवाफदेही प्रहरी अभ्यास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।