काठमाडौं — आश्विन सङ्क्रान्तिका अवसरमा आज विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाइँदै छ। नेपालका विभिन्न कलकारखाना, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने कालिगढ र श्रमिकले औजार, मेसिन तथा सवारीसाधनको पूजा गरी यो पर्व मनाउने गर्छन्।
विश्वकर्मा पूजाका लागि कलकारखाना तथा कार्यस्थल सजाउने र विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजाआराधना गर्ने चलन छ। पूजाका क्रममा कालिगढले दैनिक काममा प्रयोग गर्ने औजार तथा उपकरणको समेत पूजा गर्छन्। पूजाआराधना गरेपछि औजार लामो समय टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ।
पूजापछि बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति सुन्दरीजललगायत शुद्धस्थलमा लगेर विसर्जन गर्ने चलनसमेत छ।
धार्मिक मान्यताअनुसार द्वापर युगमा राक्षसबाट भगवान् कृष्णलाई जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेका थिए। एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको विश्वासका आधारमा विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्दै पूजा गर्ने परम्परा बसेको प्रा. तोयराज नेपाल बताउँछन्।
प्राचीन भारतवर्षमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा मानिने धार्मिक मान्यता छ। विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ अहिले भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।
विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ विश्वकर्माले नै रचना गरेको विश्वास रहेको वास्तुशास्त्री शिव पोखरेल बताउँछन्।
यही मान्यताका आधारमा नेपालका कालिगढले विश्वकर्माको पूजा गरी उनको विद्वता र सीपको सम्मान गर्ने गर्छन्। विश्वकर्माको पूजा गरे आफूमा पनि उनको गुण प्राप्त हुने धार्मिक विश्वासका कारण इन्जिन जडान भएका यन्त्र तथा सवारीसाधनको समेत पूजा गर्ने चलन छ।
वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा वास्तुविद्हरूले आश्विन सङ्क्रान्तिलाई वास्तु दिवसका रूपमा समेत मनाउने गरेका छन्।
पछिल्लो समय नेपालमा वास्तुविद्याप्रति चासो बढ्दै गएको छ। स्थापत्यवेदमा वास्तुशास्त्रसँग सम्बन्धित विषय उल्लेख रहेको मानिन्छ। परम्परागत वास्तुविद्यामा आधारित सहर तथा आवास निर्माणप्रति समेत पछिल्लो समय चासो बढ्न थालेको अध्येताहरू बताउँछन्। यससँगै नेपालमा वास्तुविद्याको महत्व पनि बढ्दै गएको छ।


