विकासशील देशको कमाइ ऋणमै सकिँदै, चार वर्षमा नयाँ ऋणभन्दा ४३६ अर्ब डलर बढी भुक्तानी

Headlines अर्थ आर्थिक बैंक/वित्त

ऋणको साँवा र ब्याज तिर्न मात्रै एक वर्षमा १.४ ट्रिलियन डलर खर्च, निजी ऋणको ब्याजदर ८.२ प्रतिशत

काठमाडौं । विकासशील देशहरूले नयाँ ऋणबाट प्राप्त गर्ने रकमभन्दा बढी पैसा पुरानो ऋणको साँवा र ब्याज तिर्न खर्च गर्न थालेका छन् । सन् २०२२ देखि २०२५ सम्म यी देशहरूले नयाँ वित्तपोषणबाट प्राप्त गरेकोभन्दा ४३६ अर्ब अमेरिकी डलर बढी रकम ऋण भुक्तानीमा खर्च गरेका छन् ।

विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको वार्षिक अन्तर्राष्ट्रिय कर्जा प्रतिवेदनले विकासशील देशहरू बढ्दो ऋणको चक्रमा फस्दै गएको देखाएको छ । नयाँ ऋण लिएर पुरानो ऋण तिर्नुपर्ने अवस्था बढ्दै जाँदा विकास निर्माण, पूर्वाधार र जनताका लागि आवश्यक सेवामा लगानी गर्ने स्रोतसमेत खुम्चिँदै गएको छ ।

प्रतिवेदनअनुसार विकासशील देशहरूको बाह्य ऋण सन् २०२५ मा बढेर रेकर्ड ९.४ ट्रिलियन डलर पुगेको छ । यो महामारीपछिको सबैभन्दा तीव्र वृद्धि हो । ऋण विस्तारमा निजी क्षेत्रको भूमिका प्रमुख देखिएको छ । निजी ऋणदाताबाट लिइएको ऋण र सार्वजनिक उद्यमहरूले जारी गरेका ऋणपत्रमा करिब ३५ प्रतिशत वृद्धि भएको छ ।

ऋणको आकार बढ्नु मात्रै होइन, त्यसको लागत पनि विकासशील देशका लागि ठूलो चुनौती बनेको छ । विशेषगरी गरिब देशहरूले निजी क्षेत्रबाट लिएको नयाँ ऋण तथा जारी गरेका ऋणपत्रमा औसत ८.२ प्रतिशत ब्याज तिर्नुपरेको छ । यो सन् १९८९ यताकै उच्च ब्याजदर हो ।

यसले विकासशील देशहरूलाई दोहोरो दबाबमा पारेको छ । एकातिर पुरानो ऋणको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने दायित्व बढिरहेको छ भने अर्कोतिर नयाँ ऋण लिनसमेत महँगो पर्दै गएको छ ।

विश्व बैङ्कका अनुसार कम तथा मध्यम आय भएका देशहरूले सन् २०२५ मा मात्रै ऋणको साँवा र ब्याज भुक्तानीमा १.४ ट्रिलियन डलर खर्च गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस्तो खर्च १.९ प्रतिशत बढेको हो । ऋण भुक्तानी लगातार पाँचौँ वर्ष बढेको छ ।

धेरै सरकारले परिपक्व भएको ऋण तिर्न नयाँ ऋणपत्र जारी गरिरहेका छन् । यसले तत्कालको भुक्तानी व्यवस्थापन गर्न सहयोग गरे पनि उच्च ब्याजदरमा नयाँ दायित्व सिर्जना गरिरहेको छ । निजी ऋणदाताबाट लिइने ऋण बहुपक्षीय वित्तीय संस्थाबाट प्राप्त हुने ऋणभन्दा महँगो हुने भएकाले यस्तो निर्भरता थप चुनौतीपूर्ण बनेको छ ।

विश्व बैङ्क समूहकी प्रमुख तथ्याङ्कविद् हाइशान फुका अनुसार निजी ऋणको प्रवाह पुनः बढ्नु सकारात्मक भए पनि कम तथा मध्यम आय भएका देशहरूले बढी ऋण लिएर बढी ब्याज तिर्नुपरेको छ । त्यसले दीर्घकालीन विकासका लागि उपलब्ध हुने रकम घटाइरहेको छ ।

विश्व अर्थतन्त्रमा महामारी, युक्रेन र इरानका युद्धबाट उत्पन्न मुद्रास्फीति तथा अमेरिकी भन्सार शुल्कका कारण अनिश्चितता बढिरहेका बेला ऋणको उच्च भारले विकासशील देशहरूको संकट सामना गर्ने क्षमता पनि कमजोर बनाएको विश्व बैङ्कले जनाएको छ ।