युद्ध अन्त्यका लागि सक्दो प्रयास गर्ने बारेमा इरानलाई पुटिनको आश्वासन

अन्तराष्ट्रिय

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् । साथै उनले इरानका आणविक केन्द्रमा भएको आक्रमणको निन्दा गर्दै इरानविरुद्धको युद्धलाई अन्यायपूर्ण भनेको इरानको सुरक्षा परिषद्का प्रमुख मेजर जनरल मोहसेन रेजाईले बताएका छन् ।

क्रेमलिनमा पुटिनसँग भएको भेटवार्ताबारे जानकारी दिँदै रेजाईले रुसी राष्ट्रपतिले युद्ध अन्त्यका लागि आफूले सक्ने सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका हुन् । इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार पुटिनले इरानका आणविक पूर्वाधारमा भएको बमबारीको समेत आलोचना गरेका थिए ।

भेटमा क्षेत्रीय घटनाक्रम, युद्धपछिको अवस्था र क्षेत्रीय सुरक्षा व्यवस्थाबारे पनि छलफल भएको रेजाईले बताए । उनले इरानका सर्वोच्च नेताको सन्देश पुटिनसमक्ष पु¥याएको र पुटिनले पनि सर्वोच्च नेताका लागि आत्मीय अभिवादन पठाएको जानकारी दिए ।

रुस र इरानबीच ऊर्जा सहकार्यका विषयमा समेत छलफल भएको छ । विशेषगरी रुसबाट इरानसम्म प्राकृतिक ग्यास पाइपलाइन निर्माण गर्ने विषयमा दुई पक्षबीच कुराकानी भएको रेजाईले बताएका छन् । उक्त पाइपलाइन निर्माण भए इरानले आफ्नो आन्तरिक ग्यास अभाव व्यवस्थापन गर्नुका साथै रुसी ग्यास छिमेकी मुलुकमा बिक्री गर्न सक्ने उनको भनाइ छ ।

रुसको राजधानी मस्कोस्थित क्रेमलिन दरबारमा बिहीवार पुटिन र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव रेजाईबीच भेटवार्ता भएको थियो । इरानको सरकारी टेलिभिजन एसएनएनले रुसी समाचार संस्था इन्टरफ्याक्सलाई उद्धृत गर्दै भेटवार्ताबारे जानकारी दिएको हो ।

यसैबीच, अमेरिका–इरान वार्ताका प्रमुख वार्ताकारसमेत रहेका इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी नेतृत्वको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै वासिङ्टनले आक्रामक नीति अपनाइरहेको र इजरायलको हितलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन् ।

गालिबाफले अमेरिकी नेतृत्वलाई इजरायलको पक्षमा उभिँदा अमेरिका थप संकटतर्फ अघि बढिरहेको टिप्पणी गरेका छन् । मस्को र तेहरानबीच सुरक्षा, ऊर्जा सहकार्य तथा युद्धपछिको क्षेत्रीय व्यवस्थाबारे कूटनीतिक छलफल जारी रहेका बेला पुटिन र रेजाईबीचको भेटलाई क्षेत्रीय तनावका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । एएनआई