संक्रमितको संख्या ५८ पुग्यो

विविध

वीरगञ्ज, १७ वैशाख । वीरगञ्जमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । बुधवार बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५८  पुगेको हो ।

आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो ।

नारायणी प्रादेशिक अस्पतालका अनुसार जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका –२ छपकैयाका १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । गत आइतबार वीरगन्ज महानगर –३ का एक र वडा १६ इनर्वाका एक स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन्  ।