राजनीतिक तरंग बढाउँदै ओली–देउवा बैठक: संयोग कि संकेत?

राजनीति

काठमाडौं,  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज महाराजगञ्ज पुगेका छन्। भदौ २३–२४ को जेनजी आन्दोलनपछि दुवै नेताबीच भएको यो पहिलो भेट हो। उक्त आन्दोलनअघि कांग्रेस–एमाले नेतृत्वको संयुक्त सरकार थियो, जसको नेतृत्व ओलीले गरेका थिए।

उता, एमाले हाल प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिट लिएर सर्वोच्च अदालतमा पुगेको छ। पार्टीका तर्फबाट सुनिता बराल र महेश बर्तौलाले दायर गरेको रिटमा १७ मंसिरमा सुनुवाइ हुँदै संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ। अब प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिटलाई एक ठाउँमै राखेर सुनुवाइ गरिने भएको छ।

यसबीच, एमाले ११औं महाधिवेशनको मुखमा पुगेको छ। अध्यक्षका लागि केपी शर्मा ओलीले तयारी अघि बढाइरहेका अवस्थामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रने भएका छन्। कांग्रेसले पनि पुस २६ देखि १५औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ। दुवै दल महाधिवेशन तयारीमा केन्द्रित रहेका बेला ओली–देउवा भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।