काठमाडौं । बैंकिङ क्षेत्रको सुधारका लागि नेपाल राष्ट्र बैंकले गठन गरेको सुझाव उपसमिति ‘ऐतिहासिक कदम’ भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले स्वागत गरेको छ।
नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रमा देखिएका वस्तुगत समस्या र चुनौतीहरूको पहिचान गर्दै ठोस समाधानका सुझाव पेस गर्ने उद्देश्यसहित समिति गठन गरिएको हो। सिबिफिनले एक विज्ञप्ति जारी गर्दै यस कदमलाई नेपालको बैंकिङ इतिहासमै पहिलो पटक सुधार केन्द्रित ‘राष्ट्रियस्तरको पहल’ भएको उल्लेख गरेको छ।
सिबिफिनका अनुसार, गभर्नरको नेतृत्वमा सरोकारवालासँग संवाद गर्दै समस्या बुझ्न गरिँदै आएको स्थलगत अध्ययन, व्यवस्थापन र सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउने प्रयासहरू सकारात्मक छन्। त्यस्तै, विगतका नीतिहरूको समीक्षा गर्दै हालको आवश्यकता र अपेक्षाअनुसार समयसापेक्ष मौद्रिक नीति ल्याउने तयारीले देश आर्थिक तथा वित्तीय क्षेत्र सुधारको दिशामा अघि बढेको सन्देश दिएको सिबिफिनको विश्वास छ।

उक्त उपसमितिमा केन्द्रीय बैंक बाहिरका प्रतिष्ठित विषयविज्ञहरू समेत सहभागी छन्, जसले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान गरी ठोस सुझाव दिने सिबिफिनको भनाइ छ। सँगै, यसले नियामकीय सुधार र प्रणालीगत परिवर्तनका लागि आधार तय गर्ने अपेक्षा गरिएको छ।
सिबिफिनले उपसमितिको अनुसन्धान, छलफल र संवाद प्रक्रियामा सक्रिय सहभागीता जनाउने प्रतिबद्धता पनि जनाएको छ। साथै, नेपाल राष्ट्र बैंकले अगाडि सारेका सुधारमुखी योजना र नीतिको कार्यान्वयनमा सहयोगीको भूमिका निर्वाह गर्न सधैं तत्पर रहने बताएको छ।
