काठमाडौं – नेपाल राष्ट्र बैंकको संयोजनमा चैत ४ देखि १० गतेसम्म ‘ग्लोबल मनी विक २०२५’ मनाइने भएको छ। अर्गनाइजेसन अफ इकोनोमी को ओपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)को अनुरोधअनुसार नेपाल राष्ट्र बैंकले यस कार्यक्रमको संयोजन गर्दैछ।
यस वर्ष १३औँ संस्करणका रूपमा मनाउन लागिएको ‘ग्लोबल मनी विक २०२५’ को नारा ‘Think Before You Follow, Wise Money Tomorrow’ रहेको छ। यस सप्ताहव्यापी अभियानमार्फत युवाहरूलाई वित्तीय शिक्षामा प्रोत्साहित गर्दै वित्तीय समावेशिता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। वित्तीय साक्षरतामार्फत स्वरोजगार सिर्जना, उत्पादन वृद्धि, आम्दानी अभिवृद्धि, तथा आर्थिक समृद्धिमा योगदान पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।
‘ग्लोबल मनी विक’ युवाहरूमा वित्तीय शिक्षाको महत्त्वबारे जागरूकता फैलाउने वार्षिक साप्ताहिक अभियान हो। सन् २०१२ देखि प्रत्येक वर्षको मार्च महिनामा मनाइँदै आएको यो अभियान ओइसीडीको संयोजनमा हालसम्म १७६ देशका ६ करोडभन्दा बढी बालबालिका र युवासम्म पुगिसकेको छ।

यस अभियानमा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहनेछ। साथै, विभिन्न गैरसरकारी संस्था तथा अन्य सरोकारवाला निकायहरूले पनि सहभागिता जनाउन सक्ने भएकाले नेपाल राष्ट्र बैंकले यसलाई भव्य रूपमा मनाउन सबै सम्बन्धित पक्षलाई आह्वान गरेको छ। राष्ट्र बैंकले ‘ग्लोबल मनी विक २०२५’ देशभर हर्षोल्लासपूर्वक मनाइने जनाएको छ।

