मुगुमा कार्मारोङमा १० शय्याको प्राथमिक अस्पताल भवन निर्माण, गुणस्तरीय सेवाको पर्खाइमा स्थानीय

स्वास्थ्य-शिक्षा

मुगु । सामान्य चोटपटक लाग्दा वा बिरामी पर्दासमेत घण्टौँ पैदल हिँडेर जिल्ला अस्पताल गमगढी धाउनुपर्ने र थप उपचारका लागि जुम्ला, सुर्खेत, नेपालगन्ज तथा काठमाडौँ पुग्नुपर्ने मुगुको विकट मुगुमा कार्मारोङ गाउँपालिकाका नागरिकको बाध्यता अब अन्त्य हुने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ स्थित रिउस बगरमा १० शय्याको सुविधा सम्पन्न प्राथमिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई उद्घाटन भएसँगै स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।

संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अन्तर्गत नेपाल पब्लिक कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले उक्त भवन निर्माण गरेको हो । १० करोड २४ लाख ९३ हजार १६० रुपैयाँको लागतमा निर्माण भएको यस अस्पताल भवनमा तीन वटा ब्लक, ४० कोठा र १९ वटा शौचालय रहेका छन् ।

निर्माण कम्पनीसँग २०७८ वैशाख १७ गते सम्झौता भई २०८० असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, डीपीआर निर्माणमा भएको ढिलाइ, सडक सञ्जालको अभाव तथा निर्माण सामग्री ढुवानीमा खच्चड र भरियामा निर्भर हुनुपर्दा काम प्रभावित भएको गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र रावलले जानकारी दिए । विभिन्न प्राविधिक र भौगोलिक कठिनाइका कारण पाँच पटक म्याद थप गर्नुपर्दा निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी भवन निर्माण सम्पन्न भएको हो ।

गाउँमै सहरका निजी अस्पताल सरहको चिटिक्क परेको ठुलो भवन बनेपछि स्थानीय बासिन्दा उत्साहित छन् । विगतमा आर्थिक अवस्था कमजोर भएका नागरिक उपचार अभावमा गाउँमै जडीबुटी र झारफुकको भर पर्न बाध्य थिए । गुरुछेटोल लामाले गाउँमै भव्य अस्पताल बनेकोमा खुसी व्यक्त गर्दै अब स्थानीय सरकारले आवश्यक चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, औषधि र उपकरणको नियमित व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।

नवनिर्मित भवनको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दुर्गम हिमाली बस्तीमा करोडौँ रुपैयाँको स्वास्थ्य संरचना निर्माण हुनु गौरवको विषय भएको बताए । सङ्घीयताकै कारण विकट गाउँमासमेत स्वास्थ्य र शिक्षाका ठुला पूर्वाधार सम्भव भएको उल्लेख गर्दै उनले अस्पतालको सेवा विस्तार र स्तरोन्नतिका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खड्गबहादुर शाहीले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन अस्पतालले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भवन निर्माणसँगै अब आवश्यक जनशक्ति, औषधि, उपकरण र नियमित सेवा सञ्चालनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

यस्तै, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले अस्पताललाई १० शय्याको क्षमताअनुसार सञ्चालन गर्न दक्ष जनशक्ति, औषधि र उपकरण उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । अस्पताल व्यवस्थापन समिति र गाउँपालिकाले आवश्यक माग पेस गरेमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउँदै उनले प्रभावकारी सेवाका लागि स्थानीय, प्रदेश र संघीय सरकारबिच समन्वय आवश्यक रहेकोमा जोड दिए ।

रिउसमा अस्पताल सञ्चालनको इतिहास नयाँ होइन । २०७५ सालमा छाया नेपाल काठमाडौं र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र मुगु र मुगुमा कार्मारोङ गाँउपालिकको लागत साझेदारीमा यही स्थानमा रिउस सामुदायिक अस्पताल स्थापना गरिएको थियो । ती दुई संस्थाले आफ्नै जनशक्ति परिचालन गरी स्वास्थ्य तथा प्रसूति सेवा, एक्सरे र प्रयोगशाला सेवा सञ्चालन गरेका थिए । त्यस बेला स्थानीयले गाउँमै विभिन्न स्वास्थ्य सेवा पाउने अवसर पाएका थिए ।

सामुदायिक अस्पताल निर्माणका लागि २८ जना जग्गाधनीले जग्गादान गरेपछि यही स्थानमा अहिले रिउस प्राथमिक अस्पताल निर्माण भएको छ । संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशभरका स्थानीय तहमा अस्पताल भवनको एकैसाथ भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए । यो भवन निर्माणका लागी मुगुका खत्याड, सोरु र मुगुमा कार्मारोङ गाउँपालिकामा पनि उक्त कार्यक्रमअन्तर्गत अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको थियो। तीमध्ये मुगुमा कार्मारोङको भवन निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् भने अन्य दुई पालिकाको भवनहरू निर्माण प्रक्रियामै रहेका छन् ।

दान बहादुर बुढा, नेपाल न्यूज बैंक