राष्ट्र बैंकको डिमाण्ड ५० अर्ब, बैंकहरुको सप्लाई ४४ अर्ब ८० करोड: बैंकहरु नट इन्ट्रेस्टेड

अर्थ समाचार

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न खोजेको थियो। तर, बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित मात्रामा आवेदन नदिएपछि केन्द्रीय बैंकको योजना अपुरो रह्यो।

बैंकहरू स्थायी निक्षेप सुविधातर्फ आकर्षित हुँदा बुधबारको निक्षेप संकलनका लागि मात्र ४४ अर्ब ८० करोड रुपैयाँ आवेदन पर्‍यो। यसले बैंक तथा वित्तीय संस्थाहरू केन्द्रीय बैंकलाई निक्षेप संकलनमार्फत पैसा दिन अनिच्छुक रहेको देखाएको छ।

मंगलबार मात्रै बैंकहरू स्थायी निक्षेप सुविधामा ८९ अर्ब ५५ करोड रुपैयाँ केन्द्रीय बैंकमा राखिसकेका थिए। स्थायी निक्षेपमा ३ प्रतिशत ब्याजदर सुनिश्चित हुने तर निक्षेप संकलन प्रक्रियामा अवधि लामो र ब्याजदर बोलकबोल प्रणालीअनुसार निर्धारण हुनुपर्ने भएकाले बैंकहरू उक्त विकल्पप्रति आकर्षित भएका हुन्।

बुधबारको निक्षेप संकलन २१ दिन अवधिको लागि थियो, जसमा ७ बैंक तथा वित्तीय संस्थाहरूले १२ आवेदनमार्फत ४४ अर्ब ८० करोड रुपैयाँ मात्र माग गरे। केन्द्रीय बैंकले पनि त्यही अनुसारको निक्षेप संकलन गर्‍यो।

यसअघि आइतबार भएको निक्षेप संकलनको औसत ब्याजदर ३ प्रतिशत थियो भने बुधबारको संकलनमा यो घटेर २.९९८० प्रतिशतमा झर्‍यो।

बुधबारको निक्षेप संकलनपछि अहिले केन्द्रीय बैंकसँग २ खर्ब १८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ, जसमा १२९ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलनबाट र ८९ अर्ब ५५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधाबाट जम्मा भएको छ।