राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरिएको डा. बाबुराम भट्टराईको आरोप

राजनीति

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाएका छन्। शुक्रबार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुगेका भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो धारणा राखे ।

उनले नयाँ शक्तिको अभियान सुरु भएपछि नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको र रवि लामिछाने त्यसैको सशक्त प्रतिनिधि भएको बताएका छन्। उनले लामिछानेलाई अस्वभाविक रूपमा दुःख दिइएको भन्दै यस्तो कार्य अन्यायपूर्ण रहेको बताए। सहकारीसम्बन्धी समस्याको जिम्मेवारी सरकारमा रहेका तीन ठूला दलहरूमै केन्द्रित रहेको र उनीहरूले पालैपालो सहकारीको रकम दुरुपयोग गरिरहेको आरोप पनि लगाए ।

भट्टराईले सहकारी पीडितलाई न्याय दिनुपर्नेमा जोड दिंदै, लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको दाबी गरेको जानकारी दिए।

उनले भने, ‘रविजीलाई मैले हामीले नयाँ शक्तिको अभियान शुरु गरेपछि जुन राजनीतिक शक्तिहरु उदय भइरहेको छ। ति मध्येको एउटा सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति सधैँ नै सद्भाव पनि छ । तर जुन प्रकारले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । योप्रति अस्वभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यवद्धता जनाउन यहाँ आएको हो। उहाँको स्वास्थ्य कस्तो छ भनेर हो । उहाँ स्वस्थ नै हुनुहुँदो रहेछ । तर पनि यो अलि प्रतिशोधपूर्ण नै भयो भनेर बुझ्छु।’

पूर्वप्रधानमन्त्री भट्टराईले सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको आरोप लगाए।

https://www.facebook.com/share/v/19gVyUqEs5/