‘भ्वाइस अफ नेपाल’काे सिजन ४ मा निर्णायक परिवर्तन : दीप र तृष्णाकाे सट्टा राजेशपायल र प्रविशा

मनोरन्जन

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो ।

परिवर्तित निर्णयकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णयक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाउने भएका छन् ।

गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ । सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिशनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन् ।

अडिशनमा नेपालसहित विभिन्न देशमा बसोवास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागिता जनाएको आयोजकले जनाएको छ । भारत, थाइल्याण्ड, बर्मा, अस्ट्रेलिया र अमेरिका बासोवास गरिरहेका नेपालभूमीका प्रतिभाहरुले पनि अडिसनमा सहभागीता जनाएको आयोजकको भनाइ छ ।

कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले कार्यक्रमले नयाँ प्रतिभाको खोजिमा जोड दिने बताए । राईले आफ्नो खोजि पनि प्रतिभाकै खोजिमा रहने र राम्रोलाई प्रोत्साहन गर्नेमा हुने बताए । त्यस्तै गायिका प्रविशा अधिकारीले आफ्नो लागि यो चुनौतीको विषय भएको बताइन् । वरिष्ठ कलाकारसँग बसेर निर्णय गर्नु आफैँमा कठिन रहेको उनको भनाए छ ।

तीनवटै सिजनदेखि मुख्य कोच रहँदै आएका दीप श्रेष्ठ र गतवर्ष कोच रहेकी तृष्णा गुरुङ यो सिजनमा भने रहने छैनन् । आगामी एक महिनाभित्र नै सिजन ४ को प्रशारण शुरु हुने आयोजकले जनाएको छ । शो हरेक शुक्रवार राति शनिवार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।