गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरणमा सुरज शाक्य

Sticky News राजनीति

काठमाडौं सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्।

हालका मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। अर्यालको अवकाशसँगै कार्कीले मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन्।

त्यसैगरी मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री पोखरेलले जानकारी दिए।

नेपाल सरकार, मन्त्रिपरिषद्को संवत् २०८३ असार २४ गतेको मुख्य मुख्य निर्णयको सूची

१ काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने ।
२ गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।
३ विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
४ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने
५ कारागार नियमावली,२०८३ स्वीकृत गर्ने ।
६ मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३÷०८४–२०८७÷८८) स्वीकृत गर्ने ।
७ भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२ । ८३–२०८७ । ८८) स्वीकृत गर्ने ।
८ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने ।