काठमाडौँ।वैदेशिक रोजगार विभागको मिति २०८३ असार २४ गतेको दैनिक कार्य प्रगति विवरण अनुसार कानुनी कारबाही, संस्थागत नवीकरण र गुनासो व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण कार्यहरू भएका छन्। विभागको मुद्दा तथा अनुसन्धान शाखाले आज एकैदिन १८ वटा नयाँ मुद्दा दर्ता गरेको छ। कानुनी प्रक्रियाका क्रममा ११ वटा मुद्दामा मिलापत्र गरिएको छ भने ५ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ।१३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको र १६ जनाका लागि पक्राउ अनुमति लिइएको विभागले जनाएको छ।
संस्था दर्ता शाखाका अनुसार सो दिन ५२ वटा म्यानपावर कम्पनी र ९ वटा पूर्व प्रस्थान अभिमुखिकरण तालिम प्रदायक संस्थाको नवीकरण गरिएको छ। यस्तै, संस्था अनुगमन शाखाले २ वटा राहदानी वितरण गर्नुका साथै १ म्यानपावर कम्पनीलाई पत्राचार गरेको छ। अनुगमनकै क्रममा ३ वटा उजुरी निवेदन प्राप्त भएकोमा एउटामा मिलापत्र गरिएको र ६ वटा उजुरीलाई टेलिफोन मार्फत समाधान गरिएको छ।
गुनासो व्यवस्थापन र सुनुवाइ विभागले सेवाग्राहीका गुनासो समाधानमा पनि तीव्रता दिएको छ। ‘हेलो सरकार’ पोर्टलबाट प्राप्त ७ वटा गुनासो मध्ये ४ वटाको पूर्ण समाधान गरिएको छ भने ३ वटा प्रक्रियामा रहेका छन्। यसैगरी, विभागको कल सेन्टर मार्फत प्राप्त भएका ७१ वटा गुनासोहरू सोही दिन समाधान गरिएको छ। मन्त्रालय मार्फत प्राप्त भएका १० वटा गुनासोहरूको हकमा पत्र मार्फत स्पष्ट जानकारी गराइएको विभागले जनाएको छ।

