Big Borrowers Take the Lead: शेयर धितो कर्जा १.७१ खर्ब नाघ्यो, ५० लाख–१ करोड समूहमा २३.६% Jump

Headlines बैंक/वित्त

शेयर धितो कर्जा १ खर्ब ७१ अर्ब नाघ्यो, साना ऋणीको कर्जा घट्दा ठूला ऋणीको बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा १ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक तथ्याङ्कअनुसार असोज मसान्तसम्म यस्तो कर्जा १ खर्ब ७१ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ पुगेको हो।

गत असार मसान्तमा १ खर्ब ६६ अर्ब ५० करोड ७९ लाख रुपैयाँ रहेको शेयर धितो कर्जा तीन महिनामा ४ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ अर्थात् २.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको असोज मसान्तको तुलनामा भने यस्तो कर्जा १८.२३ प्रतिशतले बढी हो। गत वर्ष असोजमा शेयर धितो कर्जा १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ थियो।

तर, कुल कर्जा बढे पनि सबै आकारका ऋणीले समान रूपमा कर्जा लिएका छैनन्। राष्ट्र बैंकको तथ्याङ्कमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा तीव्र रूपमा बढेको देखिन्छ भने २५ लाख रुपैयाँभन्दा कम र २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा घटेको छ।

५० लाखदेखि १ करोडसम्मको कर्जामा सबैभन्दा धेरै वृद्धि

पहिलो त्रैमासमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा २३.६ प्रतिशतले बढेको छ। असार मसान्तमा १९ अर्ब १५ करोड ३९ लाख रुपैयाँ रहेको यस्तो कर्जा असोज मसान्तमा बढेर २३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ पुगेको छ। यो अवधिमा यस समूहको कर्जा ४ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ थपिएको हो।

तीन महिनामा समग्र शेयर धितो कर्जा ४ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ बढेकामा ५० लाखदेखि १ करोडसम्मको कर्जाको हिस्सा मात्रै करिब ९३ प्रतिशत छ।

१ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा पनि बढेको छ। असार मसान्तमा १ खर्ब १९ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ रहेको यस्तो कर्जा असोजमा १ खर्ब २० अर्ब ६१ करोड ३ लाख रुपैयाँ पुगेको छ। यो १ प्रतिशतको वृद्धि हो। १ करोडभन्दा माथिको कर्जा कुल शेयर धितो कर्जाको करिब ७०.४ प्रतिशत छ।

यसको विपरीत २५ लाख रुपैयाँभन्दा कमको कर्जा ७.९ प्रतिशतले घटेको छ। असारमा ९ अर्ब ४ करोड ४४ लाख रुपैयाँ रहेको यस्तो कर्जा असोजमा ८ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा झरेको छ। तीन महिनामा यस समूहको कर्जा ७१ करोड २५ लाख रुपैयाँ घटेको हो।

त्यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा पनि ०.५ प्रतिशतले घटेर १८ अर्ब ७५ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।