एनपीएलमा नवयुवाको प्रतिभा : चम्किएका राहुल यादव

Headlines खेलकुद

काठमाडौं । क्रिवि त्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको दुई वटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव चर्चामा छन् । पहिलो खेलको पहिलो बलमै विकेट र दोस्रो खेलमा चार विकेट ल्याएर प्लेयर अफ द म्याच बनेपछि उनको चर्चा सुरु भएको हो ।

राहुल बिहीबारको खेलमा हजारौं दर्शकबिच पोस्ट म्याच सेरोमनी र देशका प्रायः सबै प्रमुख सञ्चारमाध्यमबीच पोष्ट म्याच पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए ।

अहिले थुपै सञ्चारमाध्यमहरुले उनको अन्तरवार्ता लिने भएपछि ध्यान भंग गर्न सक्ने भन्दै टिम म्यानेजरले अन्तरवार्तामा रोक लगाएका छन् । देशभर उनको बारेमा एउटै जिज्ञासा छ–‘वर्षौंदेखि क्रिकेट खेलिरहेका सयौं खेलाडीमध्ये नपरेका एनपीएल टोलीमा १६ वर्षे युवालाई कसरी चयन गरियो र प्लेइङ इलेभनमा राखियो ?’

जनकपुर बोल्टसका टिम व्यवस्थापक अनुज जैसवालका अनुसार दशैंअघि मधेशका सबै जिल्लाबाट कुनैपनि लिग वा उमेर समूहको टिममा नरहेका कुल ४ सय ४६ जनामा प्रतिस्पर्धा गराएर राहुलको छनोट गरिएको हो ।

रौतहटमा गरिएको उक्त छनोटमा स्थानीय एकाडेमीमा खेलीहरहेका राहुल छनोटमा परेका थिए । राहुल मात्र होइन उनीसँगै १० जना पनि छानिएका र उनीहरुलाई समावेश गरेर ‘डेभलपमेन्ट स्क्वायड’ बनाइएको हो ।

जनकपुरले एनपीएलको पहिलो संस्करणमा विशाल सुसलिङलाई ट्यालेन्ट हन्टमार्फत भित्र्याएको थियो । उनै विशाललाई अक्सनमार्फत भिर्त्याएको छ । यसैगरी पप्पु यादवलाई पनि अहिलेको टोलीमा समावेश छन् ।

यसैगरी नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम कर्णाली याक्सले एक्स्ट्रिम कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ ।

दैलेखबाट हिक्मत बहादुर शाही, रूकुमबाट भुवन भण्डारी र सुर्खेतबाट कैलाश खड्का छनोट भएका हुन्। यो पटक कर्णाली याक्सले सुर्खेत र सल्यानगरी दुई स्थानमा ट्यालेन्ट हन्ट गरेको थियो।

सुर्खेतमा २ सय ६ र सल्यानमा १ सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी भएका थिए । कर्णाली याक्सका कन्सल्टेन्ट प्रशिक्षक राजु बस्न्यातको नेतृत्वमा ट्यालेन्ट हन्ट सम्पन्न भएको हो। टोलीकी प्रमुख संयोजक सरिता श्रेष्ठका अनुसार तिनै तीन जना मध्ये हिक्मत बहादुर शाही छनौट भएका हुन् ।

यसैगरी पोखरा एभेन्जरर्सले गण्डकी प्रदेशका स्याङ्जा र पोखरामा कार्यक्रम राखेर पहिले नेटमा बलिङ र ब्याटिङमा उत्कृष्ट खेलाडी छानेको थियो । यसरी कुल १ सय ५६ जना मध्ये छानेर दुई टोली बनाइ पुनः ‘पोखरा एभेन्जर्स ग्रिन र पोखरा एभेन्जर्स रेड’ का रूपमा प्रतिस्पर्धा गराइएको थियो ।

त्यसबाट ‘गण्डकी हिरो’ का रूपमा चार जनालाई क्याम्पमा तालिम गराइएको थियो । तिनै मध्यका एक विश्वास पराजुलीलाई ‘आईकोनिक प्लेयर’का रूपमा एनपीएल टोलीमा समावेश गरिएको हो ।

यसैगरी लुम्बिनी लाइन्सले प्रदेशका १२ जिल्ला १२ टोलीबिच प्रतियोगिता गराएर एकै खेलमा आठ विकेट लिएका १७ वर्षीय करण घर्ती मगरलाई टोलीमा स्थान दिएको छ ।

क्यानका बोर्ड सदस्य एवं एनपीएल प्रतियोगिता निर्देशक धिरेन्द्र साउदका अनुसार नयाँ प्रतिभालाई स्थान दिन पहिलो सँस्करण देखिनै मार्क कि प्लेयर र अक्सनबाट खेलाडी चयन गरेसँगै कम्तिमा एउटा खेलाडी ट्यालेन्ट हन्टबाट ल्याउनुपर्ने व्यवस्था गरेको हो ।

‘यसले भर्खरै आफ्नो प्रतिभा तिखार्दै गरेका नव युवाले स्थापित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग ड्रेसिङ रूम शेयर गर्ने र धेरै कुरा सिक्ने मौका पाउनेछन्,’ उनको भनाइ छ ।