प्रमिला कार्की,नेपाल न्यूज बैंक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल विराटनगरका लागि अंकतालिकामा सुधार गर्ने र प्लेअफ यात्रालाई बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा रहेको छ ।
प्रतियोगितामा तीन खेल खेलिसकेको विराटनगरले अहिलेसम्म एक खेलमा मात्रै जित निकालेको छ भने दुई खेलमा पराजय बेहोरेको छ ।
दुई अंकसहित अंकतालिकाको छैटौँ स्थानमा रहेको विराटनगरलाई शीर्ष चारभित्र पर्ने सम्भावना कायम राख्न आगामी खेलहरूमा जित निकाल्नुपर्ने दबाब छ ।
त्यसैले आजको खेल विराटनगरका लागि थप दुई अंक जोड्ने अवसर मात्रै नभई प्रतियोगितामा आफ्नो दाबेदारी कायम राख्ने चुनौती पनि हो ।
लिग चरणमा प्रत्येक खेलको नतिजाले अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्ने भएकाले विराटनगरले अब हुने खेलमा अंक गुमाउने अवस्था कम गर्नुपर्नेछ ।
आज जनकपुरलाई पराजित गर्न सके विराटनगरले आफ्नो खातामा दुई अंक थप्दै अंकतालिकामा सुधार गर्नेछ । साथै, लगातारको प्रतिस्पर्धाबीच जित निकाल्दा टोलीको आत्मविश्वास बढ्ने र आगामी खेलमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ ।
आजको खेलमा विराटनगर पराजित भए के हुन्छ ?
मंगलबार जनकपुर बोल्ट्ससँग विराटनगर किङ्ग्स पराजित भए पनि प्लेअफको सम्भावना समाप्त हुँदैन । तर टोलीमाथि दबाब भने थप बढ्नेछ ।
अहिलेसम्म तीन खेल खेलेको विराटनगरले एक जित र दुई हारसहित २ अंक जोडेको छ । आजको खेल हारेमा विराटनगरले चार खेलबाट २ अंकमै चित्त बुझाउनुपर्नेछ । त्यसपछि टोलीले लिग चरणका बाँकी तीनवटै खेल जित्नुपर्ने दबाब बढ्नेछ ।
विराटनगरका लागि थप चुनौती अंकतालिकामा रहेका अन्य टोलीसँगको प्रतिस्पर्धा पनि हो । हाल ३ अंक जोडेको लुम्बिनी लायन्स र चितवन राइनोज तथा २ अंक जोडेको काठमाडौं गोर्खाज पनि प्लेअफको दौडमा छन् । लिग चरणका बाँकी खेलको नतिजाले अंकतालिकामा ठूलो फेरबदल ल्याउन सक्छ ।
एनपीएलमा शीर्ष चार टोली प्लेअफमा पुग्ने भएकाले विराटनगरले अबका खेलमा जितसँगै नेट रनरेटमा पनि ध्यान दिनुपर्नेछ । समान अंक भएका टोलीबीच नेट रनरेट निर्णायक बन्न सक्छ ।
तर, आजको खेलमा पराजित भए विराटनगरको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बन्न सक्छ । लिग चरणमा अझै खेल बाँकी रहे पनि सुरुवाती नतिजाले टोलीलाई दबाबमा राखेको छ । त्यसैले विराटनगरका लागि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सुधार गर्दै खेल जित्नु आवश्यक देखिन्छ ।
अर्कोतर्फ, जनकपुर बोल्ट्स भने अंकतालिकामा तुलनात्मक रूपमा राम्रो अवस्थामा छ । तीन खेल खेलेको जनकपुरले दुई खेलमा जित र एक खेलमा हार बेहोर्दै ४ अंक जोडेको छ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको जनकपुर आजको खेल जित्दै आफ्नो स्थान थप बलियो बनाउने योजनामा हुनेछ । जनकपुरका लागि पनि यो खेल अंक थप्ने र प्रतियोगितामा आफ्नो लय कायम राख्ने अवसर हो ।
आजको खेलमा टस जितेको जनकपुरले पहिले बलिङ गर्ने निर्णय गरेको छ । जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने अपेक्षासहित पहिले बलिङ गर्ने निर्णय गरेको बताए । उनले टोलीले चेज गर्दा राम्रो प्रदर्शन गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
यता, विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिले ब्याटिङ गर्दै राम्रो धेरै लक्ष्य दिने लक्ष्य रहेको बताएका छन् ।
विराटनगरका लागि आजको खेलमा ब्याटिङसँगै बलिङ पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।
जनकपुर भने विराटनगरलाई कम रनमा रोक्दै सहज रूपमा लक्ष्य पछ्याउने योजनामा हुनेछ ।
समग्रमा आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण भए पनि विराटनगरका लागि यसको महत्व अझ बढी छ । जनकपुर जितको लय कायम राख्न चाहन्छ भने विराटनगर पराजयको दबाबबाट बाहिर निस्कँदै प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । त्यसैले कीर्तिपुरमा हुने आजको प्रतिस्पर्धा दुवै टोलीका लागि अंकतालिकाको दृष्टिले महत्वपूर्ण रहनेछ ।
विराटनगरका बाँकी खेल
नोभेम्बर ५ : काठमाडौं गोर्खाज
नोभेम्बर १२ : पोखरा एभेन्जर्स
नोभेम्बर १४ : लुम्बिनी लायन्स
यस्तो छ,एनपीएल अंकतालिका
१ कर्णाली याक्स
२ जनकपुर बोल्ट्स
३ सुदूरपश्चिम रोयल्स
४ लुम्बिनी लायन्स
५ चितवन राइनोज
६ विराटनगर किङ्ग्स
७ काठमाडौं गोर्खाज
८ पोखरा एभेन्जर्स



