राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको एकमहिने निक्षेप संकलन गर्ने

Headlines बैंक/वित्त

काठमाडौँ — बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको एकमहिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले असोज १६ गते १८ अर्ब रुपैयाँको एकमहिने निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान गरेको हो। बोलकबोल अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत मात्रै हुनेछ।

राष्ट्र बैंकका अनुसार बोलकबोल असोज १६ गते दिउँसो ३ बजेसम्म गर्न सकिनेछ। निक्षेप संकलन उपकरण सोही दिन निष्कासन हुनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी कात्तिक १३ गते हुनेछ।

यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरेर बोल गर्नुपर्नेछ। एउटै संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा १० करोड रुपैयाँका दरले बढाउँदै कुल आह्वान रकमसम्म बोल गर्न सक्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थालाई धितो राखेर पनि यो उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ।

राष्ट्र बैंकले बोलपत्र स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकता दिनेछ। आह्वान गरिएको रकमसम्म क्रमशः बोल स्वीकृत गर्दै जाने र समान ब्याजदरमा परेको बोलबाट कुल निष्कासन रकमभन्दा बढी माग भएमा प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकले सम्पूर्ण वा आंशिक रूपमा बोल स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई दिएको छ।

स्वीकृत बोलबापतको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेप संकलनका लागि छुट्टै खातामा जम्मा गरिनेछ। तोकिएको भुक्तानी मितिमा निर्धारित ब्याजसहितको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिने सूचनामा उल्लेख छ।

निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा जम्मा भएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा गणना हुनेछ। यस्तो रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि राष्ट्र बैंकले तोकेको वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा गणना गर्न पाउने व्यवस्था छ।