भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति

Sticky News अर्थ पर्यटन

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाढीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) ले तयार पारेको प्रतिवेदनमा उक्त क्षतिको विवरण उल्लेख छ। टोलीले सोमबार पर्यटनमन्त्री खड्गराज पौडेललाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको छ। होटल क्षेत्रमा १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। त्यस्तै, वैदेशिक पर्यटन आम्दानीतर्फ १४ अर्ब ६० करोड २४ लाख ६४ हजार र पर्यटक व्यवस्थापनतर्फ १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनतर्फ १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्टतर्फ १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ १ अर्ब २७ करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ।

आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख रुपैयाँ, र्‍याफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

बाढी तथा पहिरोबाट १ हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये ३१० जनाको उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन्। हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली छन्।

घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरसँग समन्वय गरी खोज तथा उद्धार सुरु गरिएको क्यूआरटीका संयोजक धमलाले जानकारी दिए।

प्रतिवेदनले विपद्पछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राख्नुपर्ने सुझाव दिएको छ। सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकासका लागि जलवायु–अनुकूल पूर्वाधार, पूर्वसूचना प्रणाली, पर्यटक प्रहरीको विस्तार र पर्यटन बिमा प्रणालीको संस्थागत विकास आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

बाढीपहिरोबाट प्रभावित पर्यटन व्यवसायीका लागि तत्काल राहत, कर छुट तथा सहुलियतपूर्ण पुनरुत्थान प्याकेज आवश्यक रहेको क्यूआरटीका संयोजक धमलाले बताए। प्रभावित क्षेत्रमा वैकल्पिक पदमार्ग तथा यातायात पहुँच शीघ्र सञ्चालनमा ल्याउन र अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल सुरक्षित तथा पर्यटकका लागि खुला रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने उनले बताए।

पर्यटनमन्त्री पौडेलले आगामी दिनमा हुन सक्ने विपद्का बेला प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्यका लागि पुनरुत्थान योजना मस्यौदा तयार गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई दिएका छन्। बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार तथा क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए।

मन्त्री पौडेलले नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रसँगको सहकार्यमा तयार हुने संयुक्त कार्ययोजना कार्यान्वयन गर्दै आगामी पर्यटकीय यामअघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार तथा यातायात पहुँच पुनःस्थापित गर्ने बताए।

पर्यटन बोर्डले सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा निजी क्षेत्रसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै पर्यटक सुरक्षा, विश्वसनीय सूचना प्रवाह र पर्यटन क्षेत्रको दिगो पुनरुत्थानलाई प्राथमिकतामा राख्ने जनाएको छ।

प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि भारतका दुई सहरमा प्रेस ब्रिफिङ तथा ‘नेपाल नाइट’ कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको छ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव तथा शाखा प्रमुखहरू, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक हिक्मतसिंह ऐरलगायत मन्त्रालय, बोर्ड तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।