भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

Headlines समाचार

काठमाडौँ,  प्रतिनिधिसभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि प्रस्तुत गरेको प्रस्ताव बैठकले सहमति जनाएको हो।

समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रबिन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहेका छन्। समितिले आफ्नो पहिलो बैठकबाट अध्यक्ष चयन गर्नेछ।

समितिले हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गर्नेछ। त्यसका आधारमा विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण र भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सुझाव दिनेछ।

त्यस्तै, विपद् व्यवस्थापनसँग सम्बन्धित आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशासमेत समितिले सिफारिस गर्नेछ।