काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ। बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको पहिचान तथा विवरण संकलन भइरहेको छ।
नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ। घटनामा ठूलो जनधनको क्षति भएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३ जना र ग्रिनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ।
बाढीपछि टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, वेत्रावती र हाकुलगायत क्षेत्रमा प्रहरी तथा स्थानीयसमेत सम्पर्कविहीन भएको विवरण आएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।
भोटेकोशीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासीपूर्वसम्म ठूलो प्रभाव पारेको छ। बाढीका कारण सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीय उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। पछिल्लो विवरण संकलनसँगै मृतक, घाइते तथा सम्पर्कविहीनको संख्या थप यकिन हुने प्रहरीले जनाएको छ।


