भोटेकोशी बाढी : उद्धार, खोजी र प्रभावितको सुरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

Headlines जलवायु परिवर्तन पूर्वाधार तथा विकास निर्माण

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी गर्नु र प्रभावित नागरिकलाई सुरक्षित राख्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनका अनुसार बाढीमा परी हालसम्म ९५ जनाले ज्यान गुमाएका छन्।

उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्रीका अनुसार बाढीको खबर प्राप्त भएलगत्तै सरकारले उद्धार, खोजी तथा राहतका लागि सम्पूर्ण संयन्त्र परिचालन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक बसेर उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरिएको उनले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। बेपत्ता नागरिकको खोजीलाई थप तीव्र बनाउने र रातभर पनि उद्धार कार्य जारी राख्ने सरकारको तयारी छ।

घाइतेको निःशुल्क उपचार

प्रधानमन्त्री शाहले घाइतेको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको बताएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत जुनसुकै बेला घाइतेको उपचार गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमै मेडिकल टोली परिचालन गरी घाइतेको उद्धार तथा प्राथमिक उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टर तथा विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा पठाइएको छ।

नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत संस्थाबाट समेत चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्रीले बताएका छन्।

आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटसँग समन्वय भइरहेको उनले बताए।

यी क्षेत्र बढी प्रभावित

प्रधानमन्त्रीका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्।

ती क्षेत्रका पीडित परिवारसम्म खानेकुरा, स्वच्छ खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने उनले बताएका छन्।

बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी आयोजनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने प्रधानमन्त्रीको भनाइ छ।

बेपत्ताको खोजी तीव्र बनाइने

प्रधानमन्त्री शाहले बाढीमा हराइरहेका नागरिकको खोजीलाई अझ तीव्र बनाउने बताएका छन्। घाइतेको पूर्ण विवरण तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको उनले जानकारी दिएका छन्।

उनले विपद्को कठिन घडीमा प्रभावित नागरिक एक्लो नरहेको भन्दै राज्य सम्पूर्ण साधन र स्रोतसहित उनीहरूको साथमा रहेको बताएका छन्।

प्रधानमन्त्रीले सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई पनि सरकारको राहत तथा उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्।