काठमाडौँ — दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै ७८ हजार १३८ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनमार्फत एक लाख ८७ हजार ७७४ यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार मङ्गलबार बिहानदेखि बुधबार बिहानसम्मको २४ घण्टामा उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन्। दसैँ नजिकिएसँगै अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिस परिवारसँग चाडपर्व मनाउन घर फर्किन थालेका छन्।
असोज २५ गते ५२ हजार ८२७ र असोज २६ गते ५६ हजार ८०९ यात्रु उपत्यकाबाट बाहिरिएका थिए। फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडालगायत नाका हुँदै यात्रु बाहिरिएका छन्।
यात्रुको चाप बढेसँगै सार्वजनिक यातायात व्यवस्थापनमा पनि चुनौती थपिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको अवस्थाका कारण सवारीसाधन सञ्चालन र व्यवस्थापनमा समस्या भइरहेको बताए।
उनका अनुसार दसैँको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन कठिनाइ भएको छ। यसले उपलब्ध सवारीसाधन व्यवस्थापनमा समेत असर पारेको छ।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर आवागमन अवरुद्ध भएको थियो। त्यस क्रममा धेरै सवारीसाधन काठमाडौँमै रोकिँदा यातायात व्यवस्थापनमा थप समस्या परेको व्यवसायीको भनाइ छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँका लागि हालसम्म एक लाख ३० हजार १२९ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते संयुक्त रूपमा ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट लिएका थिए।
यातायात व्यवसायी महासङ्घले यात्रुलाई अग्रिम टिकट लिएर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दसैँमा परिवार र आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन राजधानीबाट बाहिरिने यात्रुको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ। सडकको अवस्थासँगै यात्रुको चाप व्यवस्थापन गर्नु यातायात व्यवसायी र सुरक्षा निकायका लागि चुनौती बनेको छ।



