काठमाडौं । नेपाल बीमक संघले भोटेकोशी बाढीबाट क्षति पुगेका बीमित सम्पत्ति, सवारीसाधन तथा उद्योग–व्यवसायको बीमा दाबीका लागि सम्बन्धित बीमा कम्पनीमा यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ।
संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। संघले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।
बाढीका कारण नागरिक तथा व्यवसायीका घर, भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै संघले बीमा क्षेत्रमा परेको प्रभावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले बीमा गरिएको सम्पत्तिमा प्राकृतिक विपद्बाट क्षति पुगेका बीमितलाई सम्बन्धित बीमा कम्पनीमा तत्काल सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
त्यस्तै, प्रभावित बीमितलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण तथा सहयोग गर्न बीमा कम्पनीहरूलाई समेत संघले आग्रह गरेको छ।
क्षतिको यथाशीघ्र मूल्यांकन गरी दाबी फछ्र्यौट प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक समन्वय गर्ने प्रतिबद्धता संघले जनाएको छ।
संघले विपद्को कठिन घडीमा बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको र बीमाबाट सुरक्षित सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा संघका अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्री, उपाध्यक्ष अशोककुमार खड्का र महासचिव सुनिल वल्लभ पन्तले हस्ताक्षर गरेका छन्।
PRESS RELEASE (1)

