रसुवा बाढी : ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

Headlines समाचार

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जानकारी प्रतिनिधिसभालाई गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट बोल्दै मन्त्री खनालले मनसुन कमाण्ड पोस्टको आकस्मिक बैठक बसेर घटनाको अवस्था, खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, स्वास्थ्य सेवा तथा राहत परिचालनका विषयमा समन्वय भइरहेको बताए ।

उनका अनुसार रसुवाको टिमुरेलगायतका प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरीतर्फका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन् । त्यस्तै, नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।

रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका केही कर्मचारीसमेत हालसम्म सम्पर्कमा नरहेको मन्त्री खनालले बताए । प्रभावित क्षेत्रका केही नागरिक पनि सम्पर्कविहीन रहेको उनको भनाइ छ ।

उनका अनुसार प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ भने शवको सनाखत हुन बाँकी छ । प्रारम्भिक सूचनाअनुसार केही नेपाली नागरिकले समेत ज्यान गुमाएको जानकारी आएको उनले बताए ।

‘यस विपद्मा मृत्युवरण गर्नुहुनेप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ मन्त्री खनालले भने ।

मन्त्री खनालका अनुसार बुधबार बिहान करिब ८ बजेर ४० मिनेटतिर रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो । बाढीका कारण रसुवा र नुवाकोटका टिमुरे, स्याब्रुवेशी, भित्रावती, त्रिशूली, बटार, देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।

उनले बाढी आउनुअघि बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र भूकम्पका कारण हिमपहिरो झरेपछि बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताए । यद्यपि उक्त विषय थप प्रमाणीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘८ बजेर ३७ मिनेटमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको पनि प्रारम्भिक सूचनाहरू आएका छन् । त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने ।

बाढीका कारण सडक, पुल, जलविद्युत् तथा सञ्चार क्षेत्रलगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको मन्त्री खनालले बताए । सरकारी तथा निजी भवन र सम्पत्तिमा समेत ठूलो क्षति पुगेको उनले जानकारी दिए ।

भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम देखिएपछि रसुवा, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए । नागरिकलाई सुरक्षित स्थानमा रहन रिङटोन, ब्याकअप टोन, एसएमएस, माइकिङ तथा सामाजिक सञ्जाललगायतका माध्यमबाट तत्काल सूचना सम्प्रेषण गरिएको उनले जानकारी दिए ।

बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक तत्काल बसेको र प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राखेर आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्री खनालले बताए ।

मन्त्री खनालले सरकारका सबै संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र सुरक्षा व्यवस्थापनको काम भइरहेको जानकारी प्रतिनिधिसभालाई गराएका छन् ।