काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए ।
उनले बिहानदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी निकायका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेर उद्धार तथा राहतका योजनाबारे जानकारी लिइरहेको बताए । नागरिकको ज्यान बचाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण प्राथमिकता भएकाले सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य त्यसतर्फ केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

लामिछानेले बाढी प्रभावित रसुवा र धादिङका नदीतटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन तथा सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गरे । चितवन, नवलपरासीलगायत नदीतटीय क्षेत्रमा पनि सावधानी अपनाउन उनले अपिल गरे ।
उनले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति तथा उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न सरकारसँग आग्रह गरे । साथै राजनीतिक दलसँग रहेका तालिमप्राप्त तथा विपद् व्यवस्थापनमा अनुभवी जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहतमा परिचालन गर्न सबै दललाई आह्वान गरे ।
‘कुनै दलको झण्डा लिएर होइन, देशको झण्डा लिएर एकैपटक उद्धार र राहतमा उत्रिनुपर्छ,’ उनले भने ।
लामिछानेले २०७२ सालको भूकम्पमा जस्तै अहिले पनि राजनीतिक दलहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताए । रास्वपा संसद्को सबैभन्दा ठूलो राजनीतिक दल भएकाले विपद्को समयमा थप जिम्मेवारीका साथ समन्वय र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत तथा उद्धारका लागि रकम परिचालन गरिरहेको छ । सरकारका विभिन्न मन्त्रालय र मन्त्रीहरू पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको उनले बताए ।
लामिछानेले खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने र त्यसपछि राहत तथा पुनस्र्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिए । विगतका विपद्मा विदेशमा रहेका नेपालीले समेत सहयोग गर्दै आएको स्मरण गर्दै उनले यसपटक पनि देशबाहिर रहेका नेपालीबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले विपद्पछि हुने पुनस्र्थापनाको काम चुनौतीपूर्ण भए पनि राज्यका सबै संयन्त्र परिचालन गरेर प्रभावित नागरिकलाई पुनस्र्थापित गर्न सकिने बताए ।
लामिछानेले विपद्का बेला अपुष्ट समाचार तथा कृत्रिम बुद्धिमत्ता (एआई)बाट तयार गरिएका भ्रामक फोटो तथा भिडियो प्रसारण नगर्न आग्रह गरे । यस्ता सामग्रीले प्रभावित नागरिकमा थप त्रास सिर्जना गर्ने भन्दै उनले जिम्मेवार रूपमा सूचना प्रवाह गर्न सबैलाई आग्रह गरे ।
स्वास्थ्य सेवातर्फ अस्पताल तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसमेत स्ट्यान्डबाइमा रहेको जानकारी आफूले पाएको उनले बताए ।
उनले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राजनीतिक दलका नेता तथा जनप्रतिनिधि अनावश्यक रूपमा भीडभाडसहित पुग्दा सुरक्षा निकायमाथि थप दबाब पर्न सक्ने बताए । आवश्यक अवस्थामा बाहेक आफू फिल्डमा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गर्न सहजीकरण गर्ने उनको भनाइ छ ।
लामिछानेले राहत वितरणमा समेत स्थानीय प्रशासनसँग समन्वय गरी एकद्वार प्रणाली अपनाउनुपर्ने बताए । राहत पहुँच भएका स्थानमा मात्रै केन्द्रित नभई दुर्गम तथा राज्यको पहुँच कम भएका क्षेत्रका नागरिकसम्म पनि पुर्याउनुपर्नेमा उनले जोड दिए ।
विपद्को समयमा महिला, गर्भवती, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायलाई उद्धार र राहतमा प्राथमिकता दिनुपर्ने उनले बताए ।
उनले उद्धारमा खटिने राजनीतिक दल तथा संघसंस्थाका स्वयंसेवकले पर्याप्त तालिम र उपकरणबिना जोखिम नलिन आग्रह गरे । तालिमप्राप्त उद्धारकर्मीसँग समन्वय गरेर काम गर्दा थप मानवीय क्षति रोक्न सकिने उनको भनाइ छ ।
बाढीमा नेपाली नागरिकसँगै विदेशी पर्यटकसमेत प्रभावित भएको हुनसक्ने भन्दै लामिछानेले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारले सबै प्रभावितको उद्धार, उपचार र सुरक्षामा ध्यान दिने विश्वास दिलाए ।
उनले विपद्को समयमा घटनास्थलमा अनावश्यक रूपमा भीड जम्मा भएर भिडियो खिच्ने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरे । यस्तो गतिविधिले उद्धारमा खटिएका सुरक्षाकर्मीलाई थप चुनौती हुने र आफैं पनि जोखिममा पर्न सक्ने उनले बताए ।
लामिछानेले रास्वपाले आकस्मिक बैठकमार्फत राहत कोषमा सहयोग गर्ने रकम तय गर्ने तथा पार्टीका सांसदलाई सामूहिक रूपमा विपद् व्यवस्थापनमा परिचालन गर्ने जानकारी दिए ।
उनले अहिले नै सरकारको कार्यसम्पादनको समीक्षा गर्न हतार नगर्न प्रतिपक्षी दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरे । अहिलेको प्राथमिकता नागरिकको ज्यान बचाउनु भएको भन्दै उद्धार, राहत र पुनस्र्थापनापछि मात्रै सरकारको कामको समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
लामिछानेले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली र प्रविधिलाई विकासको प्रमुख आधार बनाउनुपर्ने बताए । ठूला भौतिक पूर्वाधार निर्माणलाई मात्र विकासको सूचक मान्न नहुने भन्दै उनले विपद् आउनुअघि सूचना प्राप्त गर्ने प्रविधि र संयन्त्रको विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
उनले सरकारलाई नागरिकको खोजी तथा उद्धार, राहत र पुनस्र्थापनामा सम्पूर्ण क्षमता परिचालन गर्न आग्रह गर्दै विपद्को समयमा सबै राजनीतिक दल एकजुट भएर राष्ट्रिय ऐक्यबद्धताको उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।


