आइएमई लाइफ इन्स्योरेन्सको नवौं वार्षिकोत्सव : ‘न्यानो नानी’ कार्यक्रममार्फत नवजात शिशुको स्वास्थ्यमा सहयोग

बैंक/वित्त

काठमाडौं , आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा नवौं वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरी मनाएको छ।

कम्पनीले वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभरका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनालगायत कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमले समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको बताए। रक्तदानले अस्पतालमा हुने रगतको अभाव न्यूनीकरण, वृक्षारोपणले वातावरण संरक्षण तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई राहत पुर्‍याउने उनको भनाइ छ।

यसै अवसरमा आइएमई लाइफ इन्स्योरेन्सले राष्ट्रिय आविष्कार केन्द्र (नेशनल इनोभेसन सेन्टर) सँग सहकार्य सम्झौता (एमओयू) समेत गरेको छ। सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको ‘न्यानो नानी’ (बेबी वार्मर) उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले उक्त सम्झौताले दुवै संस्थाबीचको दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको बताए।

‘न्यानो नानी’ समय नपुगी वा कम तौलमा जन्मिएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग हुने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा स्वास्थ्य सुविधा सीमित रहेका क्षेत्रमा यस्तो उपकरण नवजात शिशुको जीवनरक्षाका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।

सहकार्यको पहिलो चरणमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ उपकरण हस्तान्तरण गर्ने भएको छ। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सेवामा न्यून पहुँचका कारण ती क्षेत्रका नवजात शिशुले भोग्दै आएको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको कम्पनीको भनाइ छ।

सम्बन्धित स्थानीय स्वास्थ्य संस्था तथा उपयुक्त स्थानमा उपकरण जडान गरिने र यसबाट नवजात शिशुको मृत्युदर घटाउन तथा आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सीईओ खड्काले कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) नीतिअन्तर्गत कार्यक्रम सञ्चालन गरेको बताए। कम्पनीले आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत क्रमशः विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

आइएमई लाइफ इन्स्योरेन्सले जीवन बीमाबारे जनचेतना अभिवृद्धि, बीमा सेवामार्फत ग्राहकको वित्तीय सुरक्षा सुदृढीकरण तथा राष्ट्रको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित आफ्नो सेवा सञ्चालन गर्दै आएको जनाएको छ। नौ वर्षको यात्रामा सर्वसुलभ पहुँच, छिटोछरितो दाबी भुक्तानी तथा ग्राहककेन्द्रित समाधानमार्फत विश्वास आर्जन गरेको कम्पनीले देशभर फैलिएको शाखा सञ्जाल र दक्ष जनशक्तिमार्फत गुणस्तरीय बीमा सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।