सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठलाई हिरासतमुक्त गर्न आदेश दिएको छ। अदालतले श्रेष्ठको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय उपकरणसमेत फिर्ता गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको इजलासमा सुनुवाइ भएकोमा बरामद भएका उपकरणसहित श्रेष्ठलाई आज अदालत उपस्थित गराउने आदेश भएको थियो ।



