माछापुच्छ्रे बैंकको DCEO मा कल्याण विक्रम पाँडे नियुक्त

बैंक/वित्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । उनले गत साउन २९ गतेदेखि बैंकको डीसीईओको जिम्मेवारी सम्हालेका हुन् ।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आईएमई बैंक, साविक जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बीटेक उपाधि हासिल गरेका छन् ।

उनलाई बैंकिङ क्षेत्रमा योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनलगायतका क्षेत्रमा गहिरो अनुभव रहेको बैंकले जनाएको छ ।

त्यस्तै, ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ, मर्जर तथा एक्विजिसन, वित्तीय विश्लेषण तथा उत्पादन विकास तथा दिगो एवं हरित बैंकिङका क्षेत्रमा समेत पाँडेको उल्लेख्य अनुभव रहेको छ ।

नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिले बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा रणनीतिक लक्ष्य हासिल गर्न थप योगदान पुग्ने माछापुच्छ्रे बैंकले विश्वास व्यक्त गरेको छ ।