आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्नुपर्छ : अर्थमन्त्री वाग्ले

Headlines राजनीति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत बजेटका सिद्धान्त र प्राथमिकताहरू जनताबाट अनुमोदित एजेन्डा र दर्शन अनुरूप नै आएको स्पष्ट पारेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आफ्नै भाषा र आफ्नै पूर्ण दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव कुर्न पर्ने जवाफ दिएका हुन् ।

उनले भने, ‘जनताबाट अनुमोदित भाषा, शैली, दर्शन, सार अनुसार नै हामीले प्रस्तुत गरेका हौँ। अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव चाहिँ कुर्नु पर्ला।’

नयाँ शक्ति र पुस्ता संसद्मा आएपछि संविधानमाथि संशय गरिएको भन्ने आरोपको खण्डन गर्दै उनले संविधानप्रतिको आफ्नो बफादारी अटुट रहेको दाबी गरे। ‘संविधानप्रतिको हाम्रो बफादारीबारे आधारहीन संशय छरिएको छ। संविधानमा मन नपरेका प्रावधानहरूलाई फेर्नुपरे पनि यही संविधानकै धारा २७४ र २७५ टेकेर मात्रै गर्छौँ भन्ने कुरा हामीले वाचापत्रमै स्पष्ट रूपमा उल्लेख गरेका छौँ,’अर्थमन्त्री वाग्लेले स्पष्ट पारे।

अर्थतन्त्रको मूल गन्तव्यमा सबै दलको साझा बुझाइ हुनुपर्ने भन्दै उनले साध्य र साधनको फरक पाटोबारे चर्चा गरे।
‘हाम्रो चाहना अर्थतन्त्रको आकार बढोस्, सम्मानजनक रोजगारी र औसत प्रतिव्यक्ति आयमा वृद्धि होस् भन्ने नै हो। राज्यले सामाजिक न्यायको पक्षमा गर्न सक्ने लगानीको सामथ्र्य बढोस् र अन्तर्राष्ट्रिय प्रतिष्ठा एवं आत्मसम्मान कायम होस्,’ उनले थपे, ‘अब त्यहाँ पुग्ने बाटोमा चाहिँ केही विमति हुन सक्छ। साध्य र गन्तव्यमा विमति नहोला, पुग्ने बाटोमा चाहिँ जरुर केही विमतिहरू छन्।’

विगतका परम्परागत राजनीतिक दल र शासकीय शैलीप्रति लक्षित गर्दै अर्थमन्त्री वाग्लेले देशमा रूपान्तरणको लहर आउनुको मुख्य कारण नै पुरानो कार्यशैली असफल हुनु रहेको बताए।

उनले भने, ‘विगत ३० वर्षकै नीति, शासकीय शैली र चरित्र ठिक भएको भए राजनीतिमा पुस्तान्तरण र आर्थिक–सामाजिक क्षेत्रमा यति धेरै रूपान्तरणको माग नै हुने थिएन।’