काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन हाजिर जमानीमा रिहा भएका छन्। देवी भट्टचन र कुसुम लामासँग जोडिएको विवादमा मुछिएपछि हप्तौंदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा रहेका शेरचनसहितको टोलीलाई उच्च सरकारी वकिलको कार्यालयले बुधबार हाजिर जमानीमा छाडेको हो।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार प्रारम्भिक अनुसन्धान र बयानका आधारमा तत्काल थुनामा राखिरहन आवश्यक नदेखिएपछि हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको हो। यसअघि उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको इजलासले अन्तिम पटकका लागि पाँच दिनभित्र बयान सक्ने सर्तमा म्याद थपको अनुमति दिएको थियो।
उक्त म्यादभित्रै शेरचनसहितको बयान प्रक्रिया सम्पन्न भएपछि उनीहरू सरकारी वकिल कार्यालयबाटै रिहा भएका हुन्। स्रोतका अनुसार देवी भट्टचन प्रकरणमा अपनाइएको प्रक्रियाकै आधारमा शेरचनहरू पनि हाजिर जमानीमा छुटेका हुन्।

रिहाइसम्बन्धी कागजी प्रक्रिया पूरा गर्न अशोक शेरचनसहित मणीराम भुसाल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यलाई सिआइबी मुख्यालय लगिएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरूलाई औपचारिक रूपमा मुक्त गरिएको हो।
अशोक शेरचनसहित मणीराम भुसाल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने सीआईबीले जनाएको छ ।
